
काठमाडाैं । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै जसको असर नेपालमा पर्न सक्ने जोखिम बढेकाे छ।
साेही विषयलाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्यासको आयात र बिक्रीको तथ्यांक मागेको हाे । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस कार्ययोजना पेश गर्न र सबै सरोकारवालासँग छलफल गर्न निर्देशन दिइएको विभागका निर्देशक नरहरि तिवारीले बताउनुभयाे।
उपभोक्ताले सहजै ग्यास पाउन नसकेको करिब दुई महिना भइसकेको र उपभोक्ता मर्कामा परेका छन् । तर निगमले ग्यासको आपूर्तिमा अहिलेसम्म कुनै समस्या नरहेको दावी गर्दै आएको छ । ग्यास अभाव नभएको भने पनि केही बिक्रेताले निगमतले तोकेको प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ भन्दा बढी मूल्यमा ग्यास बिक्री गरिरहेका छन् । निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा मागअनुसार ग्यास आपूर्ति भइरहेको र कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने बिक्रेतामाथि कडा निगरानी भइरहेको बताउनुभयाे । बढी मूल्य लिने बिक्रेतालाई कारबाही गर्ने अधिकार वाणिज्य विभागसँग रहेको र त्यसका लागि जानकारी गराएको पनि उहाँले बताउनुभएकाे छ।
उहाँले ग्यास वितरणलाई पारदर्शी बनाउन निगमले मंगलबार उद्योगी र बिक्रेतालाई बोलाएर निर्देशन पनि दिएको छ । अबदेखि ग्यास उद्योगीले कुन बिक्रेता (डिलर) लाई कति ग्यास पठाएको र त्यसको स्पष्ट रेकर्ड राख्नुपर्ने भएकाे छ । त्यस्तै , बिक्रेताहरूले पनि कुन उपभोक्तालाई ग्यास बिक्री गरेको र उनीहरूको नाम तथा फोन नम्बरसहितको विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको हाे ।
निगमले अहिले होटल तथा औद्योगिक प्रयोजनभन्दा ‘घरायसी प्रयोजन’ लाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीलाई निर्देशन दिएको छ । ग्यासको मौज्दात नराख्न र आवश्यकताका आधारमा मात्र वितरण गर्न र उपभोक्तालाई पनि अनावश्यक मौज्दात नगर्न निगमले अनुराेध गरेकाे हाे ।