
सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा ३७ सय भन्दा बढी मत बदर भएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी जिल्लामा कूल ३ हजार ७ सय ६४ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको कूल मतदाता संख्या ८५ हजार ५ सय १५ रहेको थियो । जमध्ये यसपटकको निर्वाचनमा ४१ हजार ४ सय १ जना मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
निर्वाचन कार्यालयले मतपत्रमा गलत तरिकाले मतदान गरिएको र आवश्यक ठाउँमा छाप नलगाइएको वा एक भन्दा बढी स्थानमा छाप लगाइएका कारण ठूलो संख्यामा मत बदर भएको जनाएकाे छ। देशभरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मतदातालाई मतदान प्रक्रियाकाे बारेमा पर्याप्त जानकारी नपुग्दा तथा मतदान केन्द्रमा मतपत्र प्रयोग गर्ने तरिका स्पष्ट नहुँदा पनि बदर मत बढेको निर्वाचन अधिकारीहरूले बताएका हुन् ।
आगामी निर्वाचनमा भने बदर मत कम गर्न मतदाता शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् ।