पाँच वर्षभित्र नेपाललाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउँछौँ : विप्लव अधिकारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई ५ वर्ष भित्रमा नै औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन्।

नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता : नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी ५ वर्ष भित्रमा आत्मनिर्भर बनाउने दाबी गरे।

तर त्यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई परिमार्जन गरिनु पर्ने उनको भनाइ छ।

`हामी आयातमुखी औषधि ऐन बोकेर हिँडिरहेका छौँ, औषधि ऐनलाई जनतामुखी बनाऔँ, २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेन, प्रशासनले पनि काम गर्न सकेनन्, औषधि ऐनमा नीतिगत परिवर्तन गरे हामी ५ वर्ष भित्र औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौँ, ८० प्रतिशत औषधि हामी उत्पादन गरेर देखाउँछौँ।´ अध्यक्ष अधिकारीले भने।

अध्यक्ष अधिकारीले नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताए। `हाम्रो औषधि विदेशका कुन औषधि सँग तुलना गर्ने गरौँ, कहाँ लगेर परीक्षण गर्ने गरौँ, नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामी विदेशमासमेत औषधि निर्यात गर्न योग्य छौँ, गरिरहेका छौँ।´