निर्वाचन आयुक्त जबरा परिवार ठगीको सिकार भएपछि…

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराको परिवार ठगीमा परेका छन् । राम्रो जग्गा सस्तो दाममा पाइने लोभमा पर्दा आयुक्तकी श्रीमती सीमा राणा ठगिएकी हुन् ।

आयुक्त जवराकी श्रीमती सीमा राणालाई सस्तोमा जग्गा मिलाइदिने प्रलोभन देखाई १८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुली निवासी ४० वर्षीय मधु कार्कीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

अभियोग पत्रका अनुसार, प्रतिवादी मधु कार्कीले सीमा राणाका श्रीमान् (निर्वाचन आयुक्त) विदेश गएको मौका छोपी आफूलाई ‘दिदी’ नाता लगाएर विश्वासमा पारेका थिए । कार्कीले ‘एक ठाउँमा निकै राम्रो र सस्तो जग्गा छ, तुरुन्त बैना नगरे अरूले लैजान्छन्’ भन्दै प्रलोभन देखाएका थिए । कार्कीको कुरामा विश्वास गरी सीमा राणाले जग्गाको बैनाबापत पटक-पटक गरी जम्मा २५ लाख रुपैयाँ र आफ्नो नागरिकताको प्रतिलिपि समेत बुझाएकी थिइन् । तर, रकम बुझेपछि कार्कीले न जग्गा पास गरिदिए, न त बैना कागज नै उपलब्ध गराए ।

ठगिएको आशङ्का भएपछि राणाले आफ्नो रकम फिर्ता माग्दा कार्कीले ६ लाख ५० हजार रुपैयाँ मात्र फिर्ता दिएका थिए । बाँकी रहेको १८ लाख ५० हजार रुपैयाँ फिर्ता नगरी उनी लामो समयदेखि सम्पर्कविहीन भएका थिए । यस प्रकरणमा निर्वाचन आयुक्तका सवारी चालक बलराम भुजेल र स्वकीय सचिव समीर भट्टराईले समेत साक्षीका रूपमा बयान दिएका छन् । उनीहरूका अनुसार प्रतिवादी कार्कीले ‘दिदी’ नाता लगाएर घनिष्ठता बढाउँदै विश्वासघात गरेका हुन् ।