‘फागुन २१ गते नै चुनाव हुन्छ, बिथोल्ने प्रयास सफल हुँदैन’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका बारेमा फैलाइएका अनावश्यक भ्रम र संशयको पछि नलाग्न उम्मेदवार तथा राजनीतिक दलहरूलाई सुझाव दिएका हुन् ।

केही तत्त्वले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यस्ता प्रयास सफल नहुने र तोकिएको मितिमै मतदान सम्पन्न हुने उनले ठोकुवा गरे। आफूलाई अझै पनि केही उम्मेदवारहरूले निर्वाचन हुने वा नहुने विषयमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै भण्डारीले अब नेपाली जनता कुनै पनि प्रायोजित हल्लाको साक्षी नबस्ने स्पष्ट पारे।

निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्‍याउँदै उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित स्वार्थ पूरा गर्न खोजे पनि निर्वाचनको वातावरण अब नबिथोलिने जिकिर गरे। उनले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूले निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरिसकेकाले धमिलो पानीमा माछा मार्ने प्रयास कसैले नगर्न चेतावनी समेत दिए।

भण्डारीका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ र सोही समयमा प्रक्रिया सम्पन्न हुनेछ। निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधिलाई सरकारले निषेध गर्ने र आयोगले त्यस्ता क्रियाकलापलाई नजिकबाट नियालिरहेको उनले बताए। वातावरण निर्माणमा कतै कमजोरी देखिए सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी दिँदै उनले निर्वाचन आयोगको अडानलाई कमजोरीको रूपमा नलिन समेत आग्रह गरे।

यसैबिच कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन्। केही सञ्चारमाध्यमहरूले आचारसंहिता विपरीत मत सर्वेक्षण गरिरहेको भन्दै उनले त्यस्ता कार्य तत्काल रोक्न सचेत गराए। पटक–पटक आग्रह गर्दा पनि कतिपय सञ्चारमाध्यमले मत सर्वेक्षण गर्न नछोडेकोमा गुनासो गर्दै उनले आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्न आयोग बाध्य हुने चेतावनी दिए।

सुशासनको मार्गमा अघि बढ्न निर्वाचन अपरिहार्य रहेको भन्दै उनले सबैलाई प्रचार–प्रसारमा केन्द्रित हुन आह्वान गरे।