‘४५ मध्ये ४१ वडाको घरदैलो सकियो, जनता सकारात्मक छन्’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कर्णालीको राजधानी वीरेन्द्रनगर समेत रहेको सुर्खेत—२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल ‘सुदीप’ उम्मेदवार छन् ।

आइतबार बिहान वीरेन्द्रनगर—१, मा घरदैलो अभियानमा व्यस्त थिए । आफ्ना कुरा राख्दै र आफै प्रचार सामग्री बाँड्दै घरदैलो गइरहेका मल्लले जनता आफूप्रति सकारात्मक रहेको बताए ।

१४ वर्षको उमेरमै ०५० सालमा विद्यार्थी सङ्गठन (अखिल क्रान्तिकारी) मा सङ्गठित भएर उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताउँदै मल्ल ०५३ सालदेखि युद्धमा होलटाइमर भएको स्मरण गरे ।

०५९ सालमा सुर्खेतको जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हालेका उनी  जनमुक्ति सेनामा समेत महत्त्वपूर्ण कमान्ड सम्हालेको बताउँछन् । कम्पनी, बटालियन र ब्रिगेड कमिसारको हैसियतमा देशका विभिन्न मोर्चाका लडाइँहरूमा सक्रिय सहभागिता जनाएको बताउँदै उनले युद्ध कालमै विकास निर्माणको नेतृत्व गरेको पनि बताए ।

जनमुक्ति सेनाको कमान्डर र सुर्खेत जिल्ला सेक्रेटरी हुँदा (०५९÷६०) सालमा पश्चिम सुर्खेतको चौकुनेस्थित गुटुको विशाल बजार आफ्नै नेतृत्वमा बसेको र ‘जनमुक्ति मार्ग’ भनेर साल्कोट–पलाइटेको सडक निर्माणको सुरुवात पनि आफूले नै गरेको उनले बताए । सानै उमेरदेखि समाज रूपान्तरणका निम्ति अग्रसर भएको र इमानदार छविकै कारण आफूले चुनाव जित्ने बताए ।

प्रस्तुत छ, चुनावी अभियानकै क्रममा रहेका नेकपा उम्मेदवार मल्लसँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको चुनावी वार्ताको अंशः

  • कस्तो चल्दै छ चुनावी अभियान ? के भन्छन् जनता ?

— अहिलेसम्म ४५ वटा वडामध्ये ४१ वटा वडाको घरदैलो कार्यक्रम सकियो । अहिले हामी वीरेन्द्रनगरको वडा नम्बर १ मा छौँ, हामी जहाँ पुग्यौँ, आम मतदाताहरूमा एउटा नयाँ विश्वास जागृत गरेको छ, आशा जगाएको छ ।

पटक–पटक भोट हालेर थकित मतदाताहरूमा अन्तिम पटक गरेका बाचा, प्रतिबद्धता पूरा गर्ने हाम्रो संकल्प लिएर हामी जनताका बिचमा छौँ । हाम्रा कुरामा आम जनताबाट सकारात्मक छन् ।

  • कस्ता कस्ता एजेन्डा छन् त तपाईंका ?

— मैले केही रणनीतिक एजेन्डाहरू पनि अघि सारेको छु , गुणस्तरीय शिक्षाका लागि प्रत्येक पालिकामा ‘आइटी कलेज’ स्थापना गरी प्रविधिमैत्री, व्यावहारिक र रोजगारमुखी शिक्षामा पहुँच, प्रदेश अस्पताललाई अत्याधुनिक र राष्ट्रियस्तरमा स्तरोन्नति गरेर प्रत्येक नागरिकलाई सुलभ, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने, पालिकास्तरमा विशेषज्ञसहितका स्वास्थ संस्था स्थापना लगायतका छन् ।

यस्तै, उज्यालो सुर्खेत र समृद्ध भविष्य’का लागि टोल–टोलमा सडक र सिँचाइ, घरघरमा बिजुली र खानेपानीको सुविधा, स्थानीय पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास र औद्योगिक क्रान्तिमार्फत आर्थिक समृद्धि र स्वदेशमै सम्मानजनक रोजगारीको ग्यारेन्टी, प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक र नमुना सहरका रूपमा विकास गर्दै उपमहानगरपालिकामा स्तरोन्नति गर्ने, बराहताल, पञ्चपुरी र चौकुनेमा व्यवस्थित बस्ती विकास र सहरीकरण लगायतका छन्।

हिजो युद्धका क्रममा वर्गीय विभेद र समानताका लागि लडाइँ लडियो । युद्धकै क्रममा मैले दाजु, जीवनसाथी पनि गुमाएको हो । सहिदहरूकै बलिदानी र हाम्रो कठोर संघर्षकै बलमा आज देशमा गणतन्त्र, समानुपातिक समावेशीता, वर्गीय विभेदको अन्त्य भयो ।

यद्यपि जुन उद्देश्य अनुरूप जनयुद्ध सुरु भएको थियो, जनताले जुन अपेक्षा गरेका थिए, त्यसमा केही कमी रह्यो । व्यवस्था बदलिए पनि जनताको अवस्थामा जुन रूपमा रूपान्तरण आउनुपर्थ्यो, त्यो आएन । अब त्यसको नेतृत्व पनि हामीले नै गर्नुपर्ने छ ।

  • सुर्खेत २ मा एमाले—कांग्रेसले चुनाव जित्दै आएको क्षेत्र हो, अहिले रास्वपा पनि छ, तपाईंलाई चुनावी प्रतिस्पर्धा गर्न कठिनै होला है ?

—बाहिरी रूपमा चारपक्षीय भने पनि यथार्थमा यथास्थितिवाद र अग्रगमनको बिचको प्रतिस्पर्धा हो भन्छु म । प्रतिगमनकारी शक्ति र अग्रगामी, परिवर्तनशील शक्तिहरू बिचको दुई पक्षीय प्रतिस्पर्धा हो । त्यो प्रतिस्पर्धामा अग्रगमनको योजना, नीति र कार्यक्रम लिएर आएको नेपाली कम्युनिस्ट पार्टीको विजयको सम्भावना चाहिँ सुनिश्चित छ ।

  • जनताले यस्ता कुरा सुन्छन् त ?

—किन नसुन्नु, सुन्छन् नि !

  • माथि विजयको सम्भावना छ भन्नुभयो, त्यस बाहेक अन्य आधार केही ?

—हामीले यसअघि ०७४ मा एमाले र ०७९ मा कांग्रेसलाई जिताउन भूमिका खेलेको हो । तर उहाँहरूले यो क्षेत्रको समुचित विकासमा योगदान गर्न सक्नु भएन । अहिले लामो समयपछि माओवादीबाटै उम्मेदवार बन्दा कार्यकर्ता उत्साहित छन् । आफ्नै उम्मेदवारलाई भोट हाल्न पाइने भयो भनेर हामी निकट आस्थावान् जनताहरू पनि खुसी हुनुहुन्छ ।

अर्को, सुर्खेती मतदाताहरूले प्रतिगमनलाई रोजेको इतिहास छैन । सदा अग्रगमन र परिवर्तन चाहने सुर्खेती मतदाताहरू नै अहिलेको विजयको प्रमुख आधार हुन् ।

  • उसो भने मत कतिसम्म आउने हिसाब राख्नु भएको छ नि ?

—अत्यधिक बहुमतले हामीले विजय हासिल गर्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

  • अन्तिममा रातोपाटी मार्फत के भन्न चाहनुहुन्छ मतदातालाई ?

—रातोपाटी मार्फत सुर्खेत—२ का मतदाताहरूलाई के भन्न चाहन्छु भने—जनताले व्यक्त गर्नुभएको भावना, सुर्खेतको परिवर्तन र जनताले अहिलेको राजनीतिक पार्टीहरूको बिचमा रूपान्तरणको जे अपेक्षा गर्नुभएको छ, त्यो अपेक्षालाई पूरा गर्ने विचारको केन्द्रीकरण लिएर हामी आएका छौँ । अग्रगामी एजेन्डाको कुरा लिएर आएका छौँ । सबैलाई एउटा नयाँ आशा, भरोसा र विश्वासका साथ नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्हमा केन्द्रित हुन हामी अपिल गर्न चाहन्छु ।