उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको आयात घटाउन सकिने बताएका छन्।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेभन) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको अन्तिम चरणमा पुगेको जानकारी दिए। यस कदमले मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न र विदेशी मुद्रा सञ्चिति बढाउन ठोस सहयोग पुग्ने सरकारको दाबी छ।
इथानोल मिश्रणसम्बन्धी अध्ययन नेपालमा दुई दशकदेखि हुँदै आएको भए पनि हालै मात्र ‘पेट्रोलमा इथानोल मिसाउने आदेश २०८२’ स्वीकृत भएको छ। यो नीति राजपत्रमा प्रकाशित भएर छिट्टै कार्यान्वयनमा जाने मन्त्री सिन्हाले स्पष्ट पारे। पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्त्वपूर्ण कदम भएको उल्लेख गर्दै उनले यसबाट वार्षिक १३ करोड लिटर पेट्रोलको आयात घटाउन सकिने तथ्याङ्क प्रस्तुत गरे।
नेपालीले पसिना बगाएर कमाएको ठुलो रकम विदेशिनबाट जोगिने र सो बचतले स्थानीय तहमा छुट्टै प्रकृतिको अर्थचक्र चलायमान बनाउने उनको विश्वास छ।
मन्त्री सिन्हाले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकारले लिएको ‘स्थानीय उत्पादन पहिलो प्रयोग’ को नीतिबारे पनि चर्चा गरे।
सरकारी कार्यालयमा स्थानीय सामान प्रयोग गर्ने र आसन्न निर्वाचनमा पनि केन्द्रबाट सामान नपठाएर सम्बन्धित स्थानमै खरिद गर्ने नीतिले ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाएको उनले बताए। इथानोल उत्पादनका लागि उखुजस्ता कृषि उपजको माग बढ्ने भएकाले यसले बाँझो कृषियोग्य भूमिको उपयोग विस्तार गर्ने र किसानहरूको आम्दानी बढाउन समेत मद्दत पुग्ने देखिएको छ।
इथानोल उत्पादन र मिश्रणका क्षेत्रमा नयाँ उद्योग स्थापना, औद्योगिक सुरक्षा, रोजगारी सिर्जना र कच्चा पदार्थको निरन्तर आपूर्ति जस्ता चुनौतीहरू भने अझै कायम रहेको मन्त्री सिन्हाले स्वीकार गरे। यस क्षेत्रमा विदेशी लगानी आउने सम्भावना रहेको भन्दै उनले बजारमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए।
इथानोललाई बजारमा प्रतिस्पर्धी बनाउन यसको मूल्य पेट्रोलको तुलनामा कम हुनुपर्ने र त्यसका लागि आवश्यक कार्यविधि सरकारले छिट्टै सार्वजनिक गर्ने उनले जानकारी दिए।