‘जनता जागिसके, सुर्खेत–२ मा घण्टी बज्छ’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विगतमा पुराना दलहरूबिच चुनावी प्रतिस्पर्धा हुँदै आएको सुर्खेत—२ मा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त चुनावी माहौल बनाएको छ ।

रास्वपाबाट रमेशकुमार सापकोटा यहाँ उम्मेदवार छन् । कुनै बेला कांग्रेसका नेता सापकोटा उक्त पार्टीमा असन्तुष्टि जनाउँदै रास्वपा प्रवेश गरेका थिए । अहिले रास्वपाका जिल्ला सभापति छन् । काँक्रेविहार यातायात प्रालि सुर्खेतका अध्यक्ष समेत रहेका उनले रास्वपाप्रति जनलहर उर्लिएको दाबी गरे । 

आइतबार बिहान वीरेन्द्रनगरको मंगलगढीबाट घरदैलो गर्दै गरेका सापकोटासँग रातोपाटीले छोटो चुनावी कुराकानी गरेको छ ।  प्रस्तुत छ, उनीसँग रातोपाटीकर्मी पंखबहादुर शाहीले गरेको कुराकानीको अंशः

  • कस्तो चल्दै छ चुनावी अभियान ? 

—एकदम राम्रो चलिरहेको छ, सबैको उत्साह, सद्भाव छ ।

  • अहिलेसम्म घरदैलो अभियान कति वटा वडामा सक्नुभयो ?

—एक पटक त सबैतिर गइसकिएको छ । आज वीरेन्द्रनगरको ६ नम्बर वडामा जाँदै छौँ । अन्य ३—४ वटा वडाका केही भागहरू पनि बाँकी छन् । अबको केही दिनमै सकिन्छ ।

  • सुर्खेत—२ मा रास्वपाका चुनावी एजेन्डा के छन्, कतिपयले रास्वपा बिना चुनावी एजेन्डा बालेन र रविलाई मात्र देखाएर मत मागिरहेको भन्छन् ?

— मेरो चुनावी घोषणापत्र आज प्रिन्ट गर्न लगाएको छु, त्यसपछि भन्छु !

  • त्यसमा के छ छोटकरीमा भन्दिनु न ?

—अब हामीले अरू कुराभन्दा पनि ससाना कुराहरू नै हुन् । जनतालाई चाहिएको सामान्य बाटो–घाटादेखि लिएर वीरेन्द्रनगर उपत्यकाको ढल निकास, डुबान नियन्त्रण जस्ता कुराहरू छन् । राजधानी वीरेन्द्रनगरमा खानेपानीको लागि भेरी लिफ्टिङको आउँदैछ, त्यसलाई चाँडो बनाउन अग्रसर हुने भयो नै । पश्चिमतिर कृषि क्रान्ति, सिँचाइ योजनाहरू छ विशेषगरी । साथै, पश्चिममा बिजुली बत्ती छैन, ३६ वर्षसम्म पनि पुराना दलहरूले विद्युतीकरण गर्न सकेनन् ।

यस्तैयस्तै स्वास्थ्य, शिक्षा, बिजुली बत्ती, पानी, मानव जीवनका आधारभूत आवश्यकताहरूलाई मात्रै मैले कोट गरेको छु अहिले, धेरै ठूलो सपना मैले बाँडेको छैन है ।

  • रास्वपाप्रति अहिले पुराना दलले महत्त्व नदिएको पनि पाइयो, ग्राउन्ड के पाउनु भयो नि ?

— तपाईँले भनेजस्तै बाहिर प्रतिस्पर्धीको बुझाइ एउटा होला, तर भित्र–भित्र भुसको आगो सल्किएको छ । यो कुरा चाहिँ पुराना राजनीतिक दलका साथीहरूले स्विकार्नुभएको छैन, पत्याउनु भएको छैन । उहाँहरूलाई चाहिँ २१ गतेको ब्यालेट बक्समा खस्ने मतले चाहिँ मजाले जानकारी दिन्छ ।

  • ए त्यसो भने २ नम्बरमा घण्टी बज्छ ?

— बज्छ, हेर्दै जानुहोला ।

  • उसो भए कति मत आउने आँकलन छ त ?

—एक नम्बरमा आइन्छ भन्ने बुझ्नु न ।

  • हिसाब निकाल्नु भएको छैन ?

—लगभग–लगभग ८०—८५ हजार मत खस्ने होला जस्तो छ मेरो आकलनमा । त्यसमा ४० हजारको हाराहारीमा आउँछ होला सायद ।

  • तर, रास्वपा सहरी जनमतबाट उदाएको पार्टी हो, ग्रामीण भेगमा उसले मत ल्याउन सक्दैन भन्नेहरू पनि छन् नि ?

—जनतामा चेतनाको स्तर निकै बढेको छ । वीरेन्द्रनगर भन्दा पश्चिममा झन् उत्साह छ, हामी जाँदा वीरेन्द्रनगरभन्दा अब पश्चिम केही पनि कम छैन भन्ने कुराको सन्देश नै यो चुनावले दिन्छ ।

  • तपाईँलाई कतिपयले पूर्व कांग्रेस नेता भएकाले कांग्रेसको मत केही काट्ला अरू त गाह्रै होला पनि भन्ने रहेछन्, बजारमा ?

—हैन, मलाई सबैको आउँछ, जनताको भोट आउँछ । वीरेन्द्रनगरबाट सबैभन्दा बढी भोट एमालेको आउँछ हेर्दै जानुहोस्, पश्चिमबाट सबै दलको आउँछ, जित्छु ।

  • पुरा ‘कन्फिडेन्ड’ का साथ भन्नुभयो, आधार चाहिँ के हो ?

— जित्ने आधार त यी पुराना दलहरूले अहिलेसम्म फैलाएको वितृष्णा नै हो नि ! दोस्रो अब रास्वपा भन्दा अर्को विकल्प छैन ।

  • अन्तिममा रातोपाटी मार्फत के भन्न चाहनुहुन्छ क्षेत्र नम्बर २ का मतदातालाई ?

—देश–विदेश प्रवासमा रहनुहुने आदरणीय मतदाताहरूलाई सक्नुहुन्छ भने घर भोट दिन घर फर्किनुहोस्, नसक्ने स्थिति हो भने घरमा फोन गरेर रास्वपामा घण्टी चिन्हमा मतदान गर्नको लागि अनुरोध गर्नुस् । मुलुक परिवर्तनको लागि घण्टीमा मतदान गर्नुस् । ५ वर्ष हामीलाई हेर्नुस्, हामीले गर्न सकेनौँ भने त्यसपछिका कुरा पछि गरौँला ।