आत्मघाती हमलापछि पाकिस्तानले गर्‍यो अफगानिस्तानमा हवाई आक्रमण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हालै भएका शृङ्खलाबद्ध आत्मघाती हमलाहरूको जवाफमा पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गरेको छ । क्याम्प र लुक्ने ठाउँलाई निशाना बनाएर कारबाही गरेको  पाकिस्तानी सेनाले बताएको हो ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार आइतबार गरिएको सूचनामा आधारित लक्षित अपरेसनमा तेहरिक–ए–तालिबान पाकिस्ता (टीटीपी) र त्यसका सहायक समूहसँग सम्बन्धित सात ठाउँमा प्रहार गरिएको थियो । सीमा क्षेत्रमा इस्लामिक स्टेट (आईएस)सँग आबद्ध एक समूह पनि निशानामा परेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको तालिबान सरकारले यस मामिलामा तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन । तर अफगान स्रोतहरूले प्रहार दुई सीमावर्ती प्रान्तमा भएको बताएका छन् । स्रोतका अनुसार पक्तिका प्रान्तमा एउटा धार्मिक विद्यालय ड्रोन आक्रमणमा परेको छ भने नंगरहार प्रान्तमा पनि आक्रमण भएको रिपोर्ट आएको छ । पाकिस्तानले हालै इस्लामाबादस्थित शिया मस्जिदमा भएको आत्मघाती विस्फोटसहित बाजौर र बन्नु जिल्लामा भएका हमलामा अफगान भूमिबाट सञ्चालन भएका लडाकु संलग्न रहेको ठोस प्रमाण आफूहरूसँग रहेको दाबी गरेको छ ।

सशस्त्र समूहलाई आफ्नो भूमिबाट आक्रमण गर्न नदिन पटक–पटक आग्रह गर्दा पनि काबुलले ठोस कदम नचालेको आरोप पाकिस्तानले लगाएको छ । साथै, क्षेत्रीय शान्ति र स्थिरताप्रति आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै पाकिस्तानी नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको बताएको छ । यस घटनाले पाकिस्तान–अफगानिस्तानबिचको सुरक्षा तनाव थप बढ्ने संकेत दिएको विश्लेषकहरूले बताएका छन् ।