हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी माहोल छ । चिया–चौतारीदेखि टोल छिमेकमा चुनावकै चर्चा छ । चुनावी प्रचारसँगै मतदाता रिझाउन उम्मेदवारहरू घरदैलोमै छन् ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १२ जना उम्मेदवार छन् । लामो समयदेखि मतदान गर्दै आएकादेखि पहिलो पटक मत हाल्ने मतदाता यसपालि आश्वासन होइन, काम गर्ने नेता छान्न चाहन्छन् ।
भर्खरै शिक्षामन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिएका महावीर पुन यहाँ बलिया उम्मेदवार बनेर देखापरेका छन् । तर मतदातामा भने त्यति उत्साह देखिएको छैन । पूर्वाधार विकास, सुशासन, रोजगार र म्याग्दीलाई हिमाली जिल्लाका रूपमा कार्यान्वयन गराउनुपर्ने माग मतदाताको छ । म्याग्दीलाई सात वर्षअघि सरकारले हिमाली जिल्लामा सूचीकृत गरेको थियो । यद्यपि व्यवहारिक रूपमा कार्यान्वयन नहुँदा नागरिक असन्तुष्ट छन् ।
अन्नपूर्ण गाउँपालिका–३ का थोमस पुन यसपालिको निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन् । आफ्नो बाबाआमाले दशकौँदेखि मतदान गरेर जिताएका नेताले काम गर्न नसकेको उनले सुनाए । गाउँका तमाम समस्या हुँदा पनि समाधानतर्फ ध्यान नदिएको उनको गुनासो छ । भने, ‘हाम्रो क्षेत्र पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ हो । देशी विदेशी पर्यटक हरेक वर्ष आउँछन् । तर उनीहरू आउनका लागि गतिलो सडक छैन । सडक मात्रै होइन, अरू धेरै संरचनासमेत बनेका छैनन् । गाउँमा बस्ने नागरिकका आधारभूत समस्या पनि समाधान भएका छैनन् ।’
उनले अबका निर्वाचनमा गतिलो उम्मेदवार चिन्न नसके आफूहरू अझै धेरै वर्ष पछाडि धकेलिने बताए । ‘हाम्रा अग्रजहरूले राम्रो नेता छान्न सक्नुभएन, जसको कारण हामीले समेत विकास र सुशासनको अनुभूति गर्न पाएका छैनौँ, हामीले सही नेतृत्व नछाने हाम्रा सन्ततिले पनि दुःख पाउनेछन्,’ पुनले भने ।
मालिका गाउँपालिका–७ बिमकी ५४ वर्षीया इनदेवी जुग्जाली चुनाव जिताएर पठाएका नेताले जनताको सुख दुःख बुझ्न जरुरी रहेको बताउँछिन् । यसअघि जितेर गएका प्रतिनिधि फर्किएर गाउँ नआएकाले नेताले जनतालाई सधैँ भर्याङ बनाइरहने उनी गुनासो गर्छिन् ।

‘विकास एकै पटक हुने कुरा होइन, नेताले चुनाव जितेपछि निरन्तर जनतासँग संवाद, जनताको समस्या बुझ्ने प्रमुख विषय हो, तर अहिलेसम्म कोही पनि नेताले त्यस्तो गरेका छैनन्,’ उनले भनिन्, ‘अब मत दिँदा धेरै सोचेर दिनुपर्ने भयो, जनताको मुद्दालाई प्राथमिकता दिने नेतालाई जिताउनुपर्छ ।’
बेनी नगरपालिका–६ बाँस्कोटका लालबहादुर बानियाँ चुनाव अगाडि हात जोडेर भोट माग्न आउने नेता चुनाव जितेपछि फर्किएर नआएको गुनासो पोखे । गाउँमा व्यवस्थित सडक, रोजगार र राम्रो विद्यालयको अभाव रहेको उनको भनाइ छ । अब झुटो आश्वासन दिने उम्मेदवारलाई भोट नदिने बानियाँले बताए ।

उनले भने, ‘अहिलेसम्म धेरै वटा निर्वाचनमा भोट हाले । तर ती मेरा मत एक थान सांसद बनाउनमा मात्रै सीमित भए । हाम्रा भोटले जितेका नेता माथि पुगे जनताको अवस्था, ज्यूँका त्यूँ छन् । हाम्रो अवस्था फेरिने कहिले ? कसले फेर्छ ? चुनावका बेला पुरा नहुने आश्वासन मात्रै दिए । भोट पाएपछि हराए ।’
उनले पुराना पार्टीबाट आश हराउन थालेको सुनाए । गाउँको समस्या बुझ्ने उम्मेदवारलाई मत दिने सोच बनाएको उनको भनाइ छ । पुराना सबै पार्टीलाई पालैपालो भोट दिएको भन्दै कसैले पनि गाउँको समस्या नबुझेको बानियाँ बताउँछन् ।
स्थानीय भगवान पौडेलले २०४८ सालदेखि राज्य सत्ता चलाएका नेताले देशमा रोजगार सिर्जना गर्न नसक्दा दिनहुँ सयौँ युवा विदेश पलायन हुन बाध्य परेको बताए । यस अगाडिका धेरै निर्वाचनमा रोजगार सम्बन्धी थुप्रै बाचा गरे पनि पूरा नगरेको उनको भनाइ छ । युवा विदेश पलायन हुँदा गाउँमा वृद्धवृद्धा मात्रै रहेको पौडेलले सुनाए ।

‘गाउँमा अहिले बुढा बाआमाबाहेक युवा शक्ति भेट्याउन सकिँदैन । के गर्ने गाउँमा रोजगार छैन, ऋण धन गरेर भए पनि विदेश जानैपर्ने अवस्था छ,’ उनले भने, ‘वर्षौँ राज्य सत्तामा बसेका नेताहरूले युवालाई देशमै बस्ने वातावरण गराएको भए अहिले यो अवस्था आउने थिएन ।’
यस अगाडिका निर्वाचनमा मत दिएका नेताहरू चुनाव जितेपछि एक पटक पनि फर्किएर गाउँमा नआएको भन्दै एक पटक नयाँलाई अवसर दिने सोच बनाएको उनको भनाइ छ । आफ्ना लागि नभई जनतालाई प्राथमिकता दिने उम्मेदवारलाई मत दिने उनी बताउँछन् ।
बेनी नगरपालिका–६ का करण बानियाँले मतदान गरेर जिताएको प्रतिनिधिले जनताको पक्षमा काम गर्नु पर्ने बताए । चुनावका बेला अनावश्यक आश्वासन बाँड्ने तर पछि कुनै पनि काम नगर्दा नागरिकमा निराशा छाएको भन्दै सक्ने बाचा मात्रै गर्नुपर्ने उनको भनाइ छ । उनले विगतदेखि नै विकास हुँदै आए पनि जति हुनुपर्ने हो, त्यति नभएको बताए ।

उनले भने, ‘विकास नभएको भन्न त मिल्दै मिल्दैन, आजभन्दा आठ/दश वर्षमा गाउँ ठाउँको अवस्था कस्तो थियो ?, अहिले कस्तो भयो ? यो आफै मूल्यांकन गर्नुपर्छ । तर जति हुनु पर्ने हो त्यो हुन सकेको छैन । नेताले चुनाव जित्नका लागि महत्त्वकांक्षी योजना बनाएर आश्वासन दिन हुँदैन, सक्ने आश्वासन दिएर काम गर्यो भने जनता रुष्ट हुँदैनन् ।’