नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाईंको रूपमा चित्रण गरेका छन् । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गरे ।
आफ्ना पुराना राजनीतिक सहयात्रीहरू माननीय हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण गर्दै ओलीले एमाले ५०–६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताए।
निर्वाचन बिथोल्ने प्रयासको विरोध
अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाए । ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं’ उनले भने । विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उनले झण्डाको अपमान गर्नु निर्वाचन विरुद्धको अपराध भएको बताए ।
एमाले सरकारका उपलब्धिहरूको चर्चा
आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ओलीले एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गरे । उनले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गराए ।
आफूमाथि भइरहेका प्रहारहरूको जवाफ दिँदै अध्यक्ष ओलीले देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको बताए । उनले नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजित गर्न खोज्ने तत्वहरू विरुद्ध आफू ढाल बनेर उभिएको बताए । एमाले कसैको कठपुतली नभएको र देशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने उनको उद्घोष थियो ।
कार्यक्रममा एमाले प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै ओलीले पार्टी छोडेर गएकाहरूलाई पनि फर्कन आग्रह गरे ।