अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासाले आफ्नो बहुप्रतीक्षित चन्द्र अभियान आर्टेमिस–२ स्थगित गरेको छ । ६ मार्च तय गरिएको प्रक्षेपण अब विचाराधीन नभएको नासाले बताएको छ । नियमित जाँचका क्रममा अन्तिम समयमा देखिएका प्राविधिक समस्याका कारण उडान रोकिएको नासाले जनाएको हो ।
शनिबार नासा प्रमुख जारेड आइज्याकम्यानले रकेट प्रणालीमा थप मर्मत आवश्यक परेकाले प्रक्षेपण तालिका पर सारिएको जानकारी दिए । लामो समयको तयारीपछि ढिलाइ हुँदा सर्वसाधारण निराश हुन सक्ने उनलेस्वीकार गरेका छन् ।
इन्जिनियरहरूले शुक्रबार राति रकेट सञ्चालनका लागि अत्यावश्यक हेलियमको प्रवाहमा अवरोध देखेका थिए । इन्धन ट्याङ्क प्रेसराइज गर्न र रकेट प्रणाली चिस्याउन प्रयोग हुने हेलियममा समस्या देखिनु गम्भीर प्राविधिक चुनौती मानिन्छ ।
यसअघि फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा गरिएको वेट ड्रेस रिहर्सल सफल भएको संकेत पाएपछि नासाले ६ मार्चमै प्रक्षेपण सम्भव हुने बताएको थियो । परीक्षणका क्रममा करिब ७ लाख ३० हजार ग्यालोन प्रोपेलेन्ट रकेटमा भर्ने अभ्यास गरिएको थियो ।
आर्टेमिस–२ अन्तर्गत चार अन्तरिक्ष जना यात्री रिड विसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यान्सेनलाई चन्द्रमाको परिक्रमा गराएर १० दिनको यात्रामा पठाउने तयारी छ । यसलाई मानव जातिको चन्द्रमाको टाढाको भागसम्म पुग्ने सबैभन्दा साहसी प्रयास मानिएको छ ।
मिसन सफल भएमा आर्टेमिस–३ मार्फत नासाले सन् १९७२ पछि पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने योजना बनाएको छ । यद्यपि, सन २०२८ भित्र अवतरण गराउने लक्ष्य महत्वाकांक्षी हुन सक्ने नासाले स्वीकार गरेको छ ।