नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता र प्रमुख दलहरूबिचको सहकार्यलाई अनिवार्य सर्तका रूपमा अघि सारेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्दै उनले भदौ २४ गतेको घटनालाई नेपालको राष्ट्रिय अस्तित्व र सार्वभौमसत्तामाथि गरिएको योजनाबद्ध प्रहारको संज्ञा दिएका हुन् ।
अपराधी तत्त्वहरूले ‘नयाँ शक्ति’ को मुखुण्डो लगाएर देशविरुद्ध अपराध गरिरहेको आरोप लगाउँदै ओलीले त्यस्ता शक्तिलाई समयमै चिन्न मतदाताहरूलाई आग्रह गरे। ओलीले पछिल्लो समय ठुला दलहरूबिच देखिएको सहकार्यलाई राजनीतिक अस्थिरता अन्त्य गर्ने इमानदार प्रयासका रूपमा व्याख्या गरेका छन्।
ठुला पार्टी मिल्नु संकटको कारण नभई बरु अस्थिरताको चक्र रोक्न चालिएको कदम भएको उनको दाबी छ। संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकबाट प्रणालीमै प्रहार गर्ने उद्देश्यले भदौ २३ र २४ का घटनाहरू गराइएको उनले जिकिर गरे। नयाँ भनिएका पात्रहरूले स्थानीय र संघीय तहमा आफ्नो क्षमता देखाइसकेको भन्दै ओलीले सुशासन र विकासका लागि एमालेको ‘ट्रयाक रेकर्ड’ प्रमाणित भइसकेको बताए
पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको चर्चालाई भ्रमको संज्ञा दिँदै ओलीले देश युवाको ऊर्जा र अनुभवीको बुद्धिको मिलनबाट मात्रै बन्ने तर्क गरे। युवालाई ‘आगो’ र अनुभवलाई ‘उज्यालो’ को उपमा दिँदै उनले आगोलाई दिशा र उज्यालोलाई ऊर्जा आवश्यक पर्ने बताए।
यो निर्वाचन केवल पुस्ता फेर्ने विषय नभई ‘देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह’ भएको उनको दाबी छ। राष्ट्रिय स्वाभिमान र संविधानको रक्षाका लागि ‘देश पहिला’ भन्ने भावनाका साथ मतदान गर्न उनले आम जनतालाई अपिल गरे।
।