शरीरमा प्रोटिनको कमीका ४ संकेत थाहा पाउनुहोस्

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 के तपाईं खाना खाएपछि थकान महसुस गर्नुहुन्छ वा तपाईंको कपाल र नङहरू कमजोर भइरहेका छन् ? यसको कारण शरीरमा प्रोटिनको कमी हुन सक्छ । प्रोटिनले मेटाबोलिज्म, हर्मोन सन्तुलन, रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) र छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

छाला रोग विशेषज्ञ डा.  तानिया उप्रेतीका अनुसार जब खानपानमा प्रोटिनको मात्रा कम हुन्छ,  तब शरीरले मांसपेशीहरूलाई टुक्राएर प्रोटिनको आवश्यकता पूरा गर्न थाल्छ । यसको असर बिस्तारै शरीरको ऊर्जा, शक्ति र समग्र स्वास्थ्यमा पर्छ ।

अपर्याप्त प्रोटिनले मांसपेशी कमजोर र मेटाबोलिज्म सुस्त बनाउँछ ।

लगातार थकान

प्रोटिन कम हुँदा शरीरमा ऊर्जा घट्छ, मांसपेशीहरू कमजोर हुन्छन् र मेटाबोलिज्म सुस्त हुन सक्छ । यसले गर्दा एकाग्रतामा कमी र स्वभाव (मुड) मा परिवर्तन आउन सक्छ ।

पटक–पटक भोक लाग्नु

प्रोटिनले पेटलाई धेरै बेरसम्म भरिएको महसुस गराउँछ । कम प्रोटिन र धेरै कार्बोहाइड्रेट भएको खाना खाँदा रगतमा चिनीको मात्रा ब्लड सुगर तीव्र रूपमा तल माथि हुन्छ, जसले गर्दा चाँडै भोक लाग्छ ।

कपाल र नङ कमजोर हुनु

कपाल पातलो हुनु र नङ भाँचिनु प्रोटिनको कमीका लक्षण हुन् । यसका साथै छाला सुक्खा हुनु पनि प्रोटिनको कमीको प्रारम्भिक संकेत हुन सक्छ ।

बारम्बार बिरामी पर्नु 

प्रोटिनले शरीरमा एन्टिबडी र इन्जाइमहरू बनाउन मद्दत गर्छ । यसको कमीले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, जसका कारण बिरामी पर्दा निको हुन धेरै समय लाग्छ।

कति प्रोटिन आवश्यक छ ?

विशेषज्ञहरूका अनुसार वयस्कहरूले दैनिक आफ्नो शरीरको प्रतिकिलो तौल बराबर १ देखि १.२ ग्राम प्रोटिन लिनुपर्छ।

प्रोटिन कम हुँदा ऊर्जा घट्छ,  मांसपेशीहरू कमजोर हुन्छन् र मेटाबोलिज्म (पाचन प्रक्रिया) सुस्त हुन सक्छ ।