
तनहुँ (दमौली)– आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनमा विभिन्न दलले उम्मेदवारी दिएर चुनाव प्रचारलाई तिव्रता दिइरहेका छन्।
क्यानडा नेपालले उक्त क्षेत्रमा पुगी धेरै जसो सर्वसाधारणसँग चुनावी चर्चा परिचर्चासहित कस्तो नतिजा आउन सक्छ भनी कुराकानीका आधारमा आँकलन गरेको छ।
तनहुुँ–१ बाट विघटित प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेको प्रतिनिधित्व रहेको थियो।
रास्वपाले मध्यावधि निर्वाचनका लागि पनि वाग्ले नै उम्मेदवार बनाएको छ।
दमौली बजारका एक खुद्रा ब्यापारी स्थानीय भन्छन्,‘सबैतिर परिवर्तनको हल्ला छ तर यहाँ नेपाली कांग्रेसको पनि राम्रो उपस्थिति रहेको छ।’
नेपाली कांग्रेसले ०८० सालको उपनिर्वाचनमा डा. वाग्लेसँग पराजित भएका गोविन्द भट्टराईलाई नै उम्मेदवार बनाएको छ।
नेकपा एमालेबाट भने अपदस्त हुनुअघि ओली सरकारमा शिक्षामन्त्री रहेकी भगवती न्यौपाने उम्मेदवार तय गरेको छ। उनले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लड्न लागेकी हुन्।
तनहुँ कफिसफ वरपर रहेका युवा पुस्ताले भने यस पटक रास्वपालाई निरन्तरता दिने प्रतिक्रिया दिए। झन्डै आधा दर्जन युवाले भने,‘हामी परिवर्तन र बालेन शाहलाई प्रधानमन्त्री बनाउनका लागि पनि रास्वपालाई मत दिएर जित निकाल्ने बनाउनेछौं।’
यस क्षेत्रको चुनावी नतिजा ०७४ देखि नै हेर्दा पनि मत अभूतपूर्व हिसाबले ‘स्विङ’ भएको पाइन्छ।
२०७४ मा रास्वपा अस्तित्वमा थिएन। बाम गठबन्धन (नेकपा एमाले र तत्कालिन माओवादी)का तर्फबाट रहेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ विजयी भएका थिए। उनी यसबेला एमाले रहेका थिए।
२०७९ मा रास्वपाका विकास सिग्देल ६,०४४ मतसहित चौथो स्थानमा रहे पनि पार्टीले समानुपातिकतर्फ सम्मानजनक मत पाएर आफ्नो आधार तय गरेको थियो।
तर एक–डेढ बर्षको अन्तरालमा नै भएको उप निर्वाचनमा भने अनौठो नतिजा आयो। राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि खाली रहेको क्षेत्रमा उपनिर्वाचन भएको थियो।
यसबेला उम्मेदवार रहेका रास्वपाका वाग्ले ले ३४,९१९ भारी मत (१४,७९६ को अन्तर) ले कांग्रेसका भट्टराईलाई पराजित गरे।
२०८० वैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाले परम्परागत राजनीतिक शक्तिहरूलाई ठूलो अन्तरले पछारेको थियो। खासमा वाग्लेले खसेको मतको ५४ प्रतिशत प्राप्त गरेको तथ्यांक छ।
भट्टराईले २०,१२२ मत ल्याएका थिए। एमालेका सर्वेन्द्र खनालले ८,४८८ मत पाएका थिए। डा. वाग्लेले नेपाली कांग्रेसको गढ मानिने क्षेत्रमा कांग्रेस र एमाले दुवैका ‘स्विङ भोटर्स’ (अस्थिर मतदाता) र युवाहरूको मन जित्न सफल भएका थिए।
डा. वाग्लेको व्यक्तिगत छवि, बौद्धिकता र उम्मेदवारीले पुनः रास्वपालाई बलियो बनाएको छ। उनले सोही क्षेत्रबाट चुनाव लड्ने पक्का भइसकेको छ। यस पटक संगठन विस्तार मात्र होइन बालेन लहरको प्रभाव बलियो रहेको पाइयो।
दमौली, डुम्रे जस्ता सहरी क्षेत्र र नयाँ मतदाताहरूमा रास्वपाको क्रेज अझै कायमै देखिन्छ। नेपाली कांग्रेस र एमालेबीचको आन्तरिक द्वन्द्व वा गठबन्धनको असन्तुष्टिले रास्वपालाई फाइदा पुग्न सक्छ। कांग्रेसमा एउटा फ्याक्टरमा गोविन्दराज जोशी पक्षको पनि प्रभाव रहेका कारण रास्वपालाई फाइदा हुने स्थानीय नै बताउँछन्।
आगामी निर्वाचनमा रास्वपाले आफ्नो साख जोगाउन करिब ३०,००० देखि ३५,००० मत सुरक्षित गर्नुपर्ने देखिन्छ। ‘यति मत आएको खण्डमा रास्वपाले दबदबा कायम राख्न सक्छ’, स्थानीय भन्छन्।