
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गर्नुभएको छ ।
बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले विपक्ष राजनीतिक दलहरुले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गर्नुभयो । संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले नयाँ भनिएका राजनीतिक दलहरुले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरुमा त्यो नदिएको समेत बताउनुभयो ।
संयोजक दाहालले आफ्नो पार्टी, काँग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिष्पर्धा हुने पनि बताउनु भयो । उहाँले आगामी १०, १५ दिन भित्र नेपाली कम्युनिष्ट पार्टीले अन्य पार्टीहरुलाई पछाडि पारेर निर्वाचनको माहोल बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यस्तो देखिन्छ कि समानुपातिकमा अलिकति नयाँहरुको वेब नयाँ ठाउँमा पुराना ठाउँमा होइन । त्यस्तो देखिएपनि प्रत्यक्षतर्फको वेब चाहीँ नेपाली कम्युनिष्ट पार्टीमा नै छ कमरेडहरु विचार गर्नुहोला । प्रत्यक्षतर्फ वेब बढि हामीतिर छ । यसकारण यसलाई हामीले क्यास गर्न सक्नुपर्नेछ । यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरु, विपक्ष राजनीतिक दल, बुद्धिजीविहरु, पत्रकारहरु सबैले पनि आज भोली भन्न के थालेको छन भने–नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ है भन्नेमा कसैको विमति छैन । पहिला त हामीलाई बडो हेपेर भन्ने गर्थे–एकदम कम ल्याउँछ, भनेजस्तो आउँदै आउँदैन भन्थे केही मान्छेहरु । ती मान्छेहरु पनि अहिले नेपाली कम्युनिष्ट पार्टी कम्पिटिशनमा गयो । अहिले ४ वटाको बीचमा प्रतिष्पर्धा हुन्छ भन्ने बजार पनि चर्चा छ । सायद तपाईहरुले मिडियामा पनि हेर्नुभयो होला । हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा (एमाले) र रास्वपाका बीच कडा प्रतिष्पर्धा हुँदैछ देशभरीको निर्वाचनमा भन्ने भनाई सबैले स्वीकारेका छन् ।
मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गईसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ । हामी सबैले मेहनत ग¥यौँ भने अहिले त्यो परिस्थिति बन्दैछ ।’ संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टी नयाँ र सबैभन्दा भिजन भएको पार्टी भएको भन्दै त्यसमा हजारौ युवा पुस्ताहरुले साथ दिएको समेत बताउनुभएकाे छ ।