बजारमा खाना पकाउने ग्याँसकाे अझै अभाव, उपभोक्ता समस्यामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 । काठमाडाैं उपत्यकामा खाना पकाउने ग्याँस सहज नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

यहि माघको पहिलो हप्तादेखि बजारमा उपभोक्ताले ग्याँस सहज रुपमा प्राप्त गर्न नसकेकाे गुनासाे गर्दै आएका हुन् । अभाव भएको महिना दिन पुग्नै लाग्दा पनि अझै बजारमा ग्याँस पाउन सहज हुन सकेको छैन । आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गरिरहेको जनाएको हाे । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ ।

विभागले ठूला ग्याँसको उत्पादन कम्पनीलाई पनि आवश्यक निर्देशन दिएको छ । उपत्यकाका उपलब्ध ग्याँस बोटलिङ उद्योगको अनुमगनको क्रममा उपभोक्ताको माग अनुसारको उत्पादन र वितरण बढाउन निर्देशन दिएको छ । उद्योगहरुलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता बढाउनै पर्ने विभागको निर्देशन दिएको हाे।

खाना पकाउने (एलपी) ग्याँसको वितरण गर्ने डिलर, रिटेलर र सप्लायर्स कम्पनीले उपभोक्ताको मागको प्रभावकारी रेकर्ड राखी ग्याँसको अनावश्यक सञ्चय नहुने गरी समन्यायिक वितरण गर्नुपर्ने भएकाे छ । त्यस्तै, उपभोक्ता र व्यावसायिक प्रतिष्ठानले अनावश्यक सञ्चय नगरी आफूलाई आवश्यक परिमाणमा मात्र खरिद गरी सहयोग गर्न विभागले आग्रह गरेको हाे ।

विभागले बजारमा ग्याँसको उपलब्धता, भण्डारण एवम् वितरणको सन्दर्भमा उद्योग स्तरमा, ठूला सप्लायर्स र साना डिलर स्तरमा समेत आपूर्ति श्रृखलाको अवस्थाको समेत अनुमगन एवम् विश्लेषण गरेको जनाएको छ ।