जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 सरकारले जेनजी आन्दोलनको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ ।

सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । सो आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदैछ ।

सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल सरकार मन्त्रीपरिषदको २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो ।’

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो ।

३ महिनाको कार्यादेशसहित गठित सो आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रीपरिषद बैठकले एक महिनाको लागि आयोगको म्याद थप गरेको थियो ।

आयोगले आफनो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रीपरिषद बैठकले पुन २० दिन आयोगको म्याद थप गरेको थियो । तर दोस्रो पटक थपिएको समयावधि भित्र पनि आयोगले आफनो प्रतिवेदन बुझाउन नसकेपछि पुन तेस्रो पटक २५ दिन सरकारले म्याद थप गरेको हो ।