क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढी ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

सोमबार यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाउँदै महासंघले केही ढुवानी सञ्चालन गर्ने सवारीसाधनले भारवहन क्षमता अत्यधिक कायम गरी सञ्चालन गर्दै आएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

मालबहाक सवारी साधन सिनो कम्पनीको ट्रकलाई भारवहन नियमन सम्बन्धी निर्देशिका विपरीत बढी क्षमता कायम गर्ने काम सरकारी निकायबाटै भएकाले गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

राज्यको निर्देशिका बमोजिम सञ्चालन भइरहेका सवारी साधनलाई विस्थापित हुने गरी सिनो कम्पनीको ट्रकलाई कायम गरिएको बढी भारवहन क्षमताको स्वीकृति तत्काल खारेज गर्न माग गर्दै विभागमा ध्यानाकर्षण गराइएको महासंघका सदस्य गोकर्ण पराजुलीले जानकारी दिए ।

उनले सबै प्रकारका मालबहाक सवारी साधनको भारवहन क्षमतामा एकरुपता कायम गर्नुपर्ने बताए ।

त्यस्तै महासंघले देशभर तौलपुललाई डिजिटल बनाउनुपर्ने र क्षमताभन्दा बढी भारवहन गर्ने सवारीसाधनलाई कारबाही गर्नुपर्ने माग गरेको उल्लेख गरेको छ  ।