इरानमा प्रमुख सुधारवादी नेताहरू पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनवरी महिनाको सरकार विरोधी प्रदर्शनका क्रममा देशको राजनीतिक तथा सामाजिक व्यवस्था भंग गर्न खोजेको र अमेरिका तथा इजरायलको हितमा काम गरेको आरोपमा इरानी अधिकारीहरूले चार जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकामध्ये तीन जना प्रख्यात सुधारवादी राजनीतिज्ञ रहेको इरानी सञ्चारमाध्यमले जनाएको छ । पक्राउ पर्नेमा इरानको रिफर्म फ्रन्टकी प्रमुख अजार मन्सुरी, पूर्व कूटनीतिज्ञ मोहसेन अमिनजादेह र पूर्व सांसद एब्राहिम अस्घरजादेह छन् । चौथो व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन ।

इजरायल र अमेरिकाबाट सैन्य धम्की आइरहेका बेला देशमा उनीहरूले अस्थिरता सिर्जना गर्ने गतिविधि सञ्चालन गरेको आरोप न्यायपालिकाले लगाएको छ । सरकारी समाचार एजेन्सी मिजानका अनुसार उनीहरूले सडक आन्दोलनलाई वैध ठहर्‍याउने प्रयास गरेको दाबी गरिएको छ । रिफर्म फ्रन्टले सामाजिक सञ्जाल एक्समार्फत मन्सुरीलाई रिभोलुसनरी गार्ड (आईआरजीसी)को गुप्तचर बलले घरको ढोकाबाटै न्यायिक आदेशसहित पक्राउ गरेको पुष्टि गरेको छ । अन्य वरिष्ठ नेताहरूलाई पनि बोलावट पठाइएको बताइएको छ ।

पक्राउ जनवरीको हिंसात्मक आन्दोलनपछिको कडा कारबाहीको पछिल्लो श्रृंखला हो । ती प्रदर्शनहरू आर्थिक संकटबाट सुरु भए पनि देशव्यापी सरकार विरोधी आन्दोलनमा परिणत भएका थिए । सरकारले आन्दोलनकारीलाई आतंकवादी भन्दै इजरायल र अमेरिकालाई आन्दोलन भड्काएको आरोप लगाएको थियो । विरोध प्रदर्शनमा ३ हजार ११७ जनाको मृत्यु भएको इरानी सरकारले स्वीकार गरेको थियो ।

तर यी मृत्युमा राज्यका सुरक्षाकर्मी जिम्मेवार भएको अन्तर्राष्ट्रिय आरोप अस्वीकार गरेको छ । अमेरिकी मानवअधिकारवादी संस्था एचआरएएनएले भने यी विरोध प्रदर्शनमा ६ हजार ८५४ जनाको मृत्यु प्रमाणित भएको र थप हजारौँ घटनाको छानबिन भइरहेको जनाएको छ । पछिल्लो पक्राउले इरान–अमेरिका सम्बन्धमा थप तनाव बढाएको छ ।