रोल्पा नगरपालिका–३ गोठमारेमा अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्रवीर विश्वकर्माका अनुसार रोल्पा नगरपालिका ३ गोठमारेकी २६ वर्षीया गायत्रा खड्का केसी, गायत्राकी २ वर्षीया छोरी रिहाना र सोही ठाउँ निवासी २३ वर्षीया निम कुमारी घर्तीको अवस्था गम्भिर छ ।
निम कुमारी घर्तीकी ५ वर्षीया छोरी तेरिया, सोही ठाउँ निवारी ४५ वर्षीया पम्फा थापा र ६५ वर्षीय खिम बहादुर खत्रीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालक गोठमारेका ३८ वर्षीय दुर्गा बहादुर केसीको अवस्था सामान्य छ ।
आइतबार राति करिब १ बजेको समयमा चालक बाहेक ६ जना घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
लिवाङबाट गोठमारे तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ह १७५७ नम्बरको अटो आफैं अनियन्त्रित भएर गएराति ८:४५ बजे दुर्घटना भएको थियो । अटो सडकबाट करिब ५० मिटर तल खसेको छ ।