न्याय परिषद्को सिफारिसमा तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्त गरेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । पटक पटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो ।
बर्खास्तीको केही समय अगाडि गरेको एक फैसलामा समेत मोलाहिजा भएको भन्दै उनलाई सर्वोच्च अदालत काजमा तानिएको थियो । अधिकारीले तराईको एक जिल्लामा रहँदा पनि आर्थिक लेनदेन गरेर फैसला गरेको उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन हुँदा न्यायाधीश अधिकारीले आर्थिक लेनदेन गरेको पुष्टि भई न्यायपरिषद्समक्ष बर्खास्तीका लागि सिफारिस समेत भएको थियो ।
न्यायाधीश सपना प्रधान मल्लको छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश अधिकारीलाई परिषद्कै बैठकमा माफी मगाएर सफाइ दिएका थिए । तर त्यसपछि पनि अधिकारीको बानी नसुध्रिएको र फैसलामा मोलाहिजा भएको पाइएपछि उनलाई बर्खास्त गरिएको थियो ।