म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् ।

बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट रु एक करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए । “गत वर्षको तुलनामा यसपाली बोटमा २५ प्रतिशत कम दाना लागेको छ,” उनले भने, “बढी मूल्यमा सुन्तला बिक्री भएकाले गत गत वर्षकै हाराहारीमा आम्दानी भएको छ ।” बढी मूल्य पार्नका लागि माघ महिना लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए ।

दोसल्लेको बगैचाको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ । अझै ४० प्रतिशत सुन्तला बोटमै छ । किसान र ब्यापारीहरुलाई सुन्तला टिपेर, ग्रेडीङ गर्ने र बजार पठाउने चटारो छ । देशका धेरै ठाउँका बगैचा रित्तिएपछि याम सकिने समयमा सुन्तला टिप्न थालेका दोसल्लेका किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका अगुवा किसान खगबिर पाइजाले बताए ।

अन्यत्रको सुन्तला सकिएकाले ब्यापारिले प्रतिक्रेट रु. तीन हजार दुई सय सम्म मूल्य तिर्न तयार भएका अर्का किसान बिकास श्रेष्ठले बताउनुभयो । पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।

दोसल्लेका सबै घरले सुन्तला खेती गरेका छन् । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् ।

दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् ।