‘बिगुलले निर्वाचनमा असल नेतृत्व छनाेट गर्न सिकाउँछ’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेस नेता दिनेश कोइरालाको निर्माण रहेको फिल्म ‘बिगुल’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । फिल्मले राजनीतिक चेतना र सुशासनको मुद्दालाई मुख्य विषय बनाएको छ । कोइराला पनि राजनीतिक चेतना र राज्यको नीतिका बारेमा नागरिकलाई सुसूचित गराउने प्रयासको रुपमा फिल्म ‘बिगुल’ निर्माण गरिएको बताउँछन् ।

‘राज्यको नीति सही भए मात्र जनताले फाइदा पाउने र गलत भए त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्ने भएकाले फिल्म मार्फत राजनीतिक खबरदारी गर्न खोजिएको हो’, उनले भने ‘विशेष गरी पछिल्लो समय सक्रिय रहेको ‘जेनजी’ पुस्ताको आन्दोलनप्रति समर्पित छ ।’ भ्रष्टाचार, सुशासन र नातावाद विरुद्धको कथा उठाएको बताउने उनी फिल्म ठ्याक्कै पछिल्लो समय युवाहरूले उठाएको मागसँग मेल खाने धारणा राख्छन्  ।

राजनीतिमा सक्रिय रहँदा रहँदै फिल्म निर्माणमा लाग्नुको कारणबारे स्पष्ट पार्दै उनले राजनीतिक मञ्च भन्दा फिल्मको माध्यमबाट ठूलो जनमानससम्म छिटो र प्रभावकारी रूपमा सन्देश पुग्ने विश्वास व्यक्त गरे । निर्वाचनका बेला नागरिकले पार्टीभन्दा माथि उठेर असल नेतृत्व छनोट गर्नुपर्ने सन्देश दिन फिल्म अहिले प्रदर्शन गर्न लागेको उनको भनाइ छ ।

गत वैशाखबाट छायाङ्कन सुरु गरिएको यस चलचित्रमा व्यावसायिक र सन्देशमूलक दुवै पक्षलाई समेटिएको छ । कोइराला फिल्म नाफा कमाउने उद्देश्यले भन्दा पनि सामाजिक उत्तरदायित्व र राजनीतिक सुधारको अभियानका रूपमा अगाडि बढाएको बताए ।  उनी भन्छन्, ‘राजनीतिक विषयवस्तुका साथै मनोरञ्जनका लागि विभिन्न विधाका गीत–सङ्गीत समेत समावेश गरिएको छ ।’

रमेश कोइरालाले निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डितको पनि मुख्य भूमिका छ ।

काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले वितरण गर्न फिल्ममा  कांग्रेस नेता विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको सङ्गीत छ ।