सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो: एमाले उपाध्यक्ष थापा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो: एमाले उपाध्यक्ष थापानेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’ ले वर्तमान सरकार निर्वाचन सार्ने खेलमा लागेको आरोप लगाएका छन्। बुधबार नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले सरकारको नियतमाथि गम्भीर आशंका व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले केही दिनअघि हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनी दिएको अभिव्यक्ति निर्वाचन सार्ने षडयन्त्रको एउटा कडी भएको थापाको दाबी छ। ‘निर्वाचन सार्ने स्पष्ट छनक प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूले दिइरहेका छन्,’ उनले भने, ‘सरकार निर्वाचन सम्पन्न गराउनु भन्दा पनि यसलाई कसरी टार्न सकिन्छ भन्नेमा केन्द्रित देखिएको छ।’

प्रधानमन्त्रीको यस्तो भनाइले आम मतदाता र दलहरूमा अन्योल सिर्जना गरेको उनले बताए। थापाले सरकारले निर्वाचनको वातावरण बिगार्न अनेकौँ प्रपञ्च रचिरहेको आरोप समेत लगाए। निर्वाचनका बेला विभिन्न दलहरूलाई विवादमा तान्ने र न्यायालयमा समेत आफ्नो छाया पारेर शक्ति सन्तुलन बिगार्ने काममा सरकार तल्लीन रहेको उनको भनाइ छ।

‘अहिलेको सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्दा पनि षडयन्त्रकारी ढङ्गले सत्ता लम्ब्याउने बाटोमा छ,’ थापाले थपे।