सरकार सेना र पुलिसको ब्यारेकमा मतपेटिका राखेर चुनावमा धाँधली गर्न खोज्दैछ : महेश बस्नेत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमालेका सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले चुनावमा सरकार स्वयं धाँधली गर्न लागेको आरोप लगाएका छन् ।

नेता बस्नेतले हिमाली जिल्लामा मौसमका कारण निर्वाचन सार्ने र त्यही क्रममा मतपेटिका प्रहरी र सेनाका ब्यारेकमा मतपेटिका राखेर कसलाई जिताउने र कसलाई हराउने काममा लागेको प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनबाटै पुष्टि भएको पनि दाबी गरेका छन् ।

‘हिमाली जिल्लामा चुनाव सम्भव छैन भनेर चैत वा वैशाख अन्तिमतिर सारेर त्यहीँ दौरानमा प्रहरी र सेनाका ब्यारेक तथा क्याम्पहरूमा मतपेटिका राखेर कसलाई हराउनुपर्ने कसलाई जिताउनुपर्ने भनेर हिसाबकिताब गर्ने भन्ने तहको षड्यन्त्रमा स्वयं सरकार संलग्न छ’, बस्नेतले गम्भीर आरोप लगाउँदै भने, ‘यो कुराको पुस्ट्याइँ स्वयं प्रधानमन्त्रीले राष्ट्रिय सभामा गरेको सम्बोधनबाट भएको छ ।’

त्यसैका लागि निर्वाचन दुई चरणमा गर्न लागिएको बस्नेतको आरोप छ । उनले सरकार स्वयं चुनावमा धाँधली गर्नेतिर लागेको भन्दै यो सरकारबाट निष्पक्ष चुनाव हुने कुरामा विश्वास गर्न नसकिने बताए ।

नेता बस्नेतले संसद् पुनर्स्थापना माग गर्दै दायर भएको रिटमाथि सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने पनि बताए ।  एमालेका तर्फबाट उपत्यकाका उठेका १५ जना उम्मेदवारहरूसँगको बुधबार काठमाडौँमा भएको संवादमा बोल्दै बस्नेतले अदालत यो मुद्दाबाट भाग्न नपाउने बताए ।

‘आज पनि पेसी चढ्छ भनेर हामीले आस गरेका थियौँ, फेरि सर्‍यो । प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसले हामी निकै ठुलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ’,बस्नेतले भने, ‘हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ ।’