पोखरा । प्रतिनिधि सभा अन्तर्गत लमजुङको चुनावी चर्चाको केन्द्रमा छन् पृथ्वीसुब्बा गुरुङ र गमप्रसाद गुरुङ । एमालेले केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बालाई नवौँ पटक उम्मेदवार बनाएको छ भने अघिल्लो पटक जिल्ला अध्यक्षमा पराजित गमप्रसाद पहिलो पटक कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन् । दुवै जना क्होंलासोंथर गाउँपालिकाका हुन् ।
पटक–पटक मन्त्री र प्रदेशको संस्थापक मुख्यमन्त्रीसमेत भएर काम गरिसकेका पृथ्वीसुब्बासँग यसअघि काम गरेका विकास आयोजना चुनावी एजेण्डा छन् । ‘मैले जन्माएका बच्चाहरू (योजनाहरू) धेरै टुहुरा भए, धेरैलाई सुकेनास लाग्यो,’ मतदातासँग उनले भन्ने गरेका छन्, ‘कति त गर्भमै रहे, जन्मिनै पाएनन् । ती अधुरा सपना पूरा गर्न म फेरि तपाईंहरूको माझमा आएको छु ।’
गमप्रसादले पनि आफूलाई विकासको पक्षधर भनेर चिनाएका छन्, तर उनी बढी नीतिगत सुधार गर्ने प्रतिबद्धता सहित भोट मागिरहेका छन् । ‘धेरै नीतिगत समस्याले हाम्रो विकास प्रभावकारी हुन सकेको छैन । पैसा त आएको छ, तर समयमा काम भएको छैन । काम नगर्नेलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन,’ उनले भने, ‘पैसामात्रै भएर नहुने रहेछ । सही कार्यान्वयनका लागि नीतिगत रूपमा प्रस्ट हुनुपर्छ । हामीले मूल नीतिमा सुधार ल्याउनैपर्छ ।’
लामो समय जडीबुटी र कृषिमा व्यस्त उनी लमजुङलाई जडीबुटीको हब बनाउनुपर्ने र किसानको उत्पादनलाई बजारसँग जोड्ने विषयलाई चुनावी एजेण्डा बनाएर हिँडिरहेका छन् ।
एउटै पालिकाका गुरुङ बन्धुबिचको प्रतिस्पर्धामा दाउ हेरिरहेका छन् वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसी । उनले पुराना दलप्रति मतदाताले देखाइरहेको वितृष्णा र सुशासनको एजेण्डालाई अस्त्र बनाएका छन् । ‘नयाँ साथीहरू विरक्तिएका छन् । नेतृत्वको गाली गरेरमात्रै हुँदैन भनेर सम्मानपूर्वक उहाँहरूलाई विस्थापन गरेर काम गर्न हामी आएका हौँ,’ उनले भने, ‘सुशासन, भ्रष्टाचार, बेथिति अन्त्य गर्नुछ । जनताको अवस्थामा परिवर्तन ल्याउन म निर्वाचनमा होमिएको हुँ ।’ सुन्दरबजारका केसी वातावरणीय इन्जिनियरिङमा काम गरिरहेका छन्
लमजुङमा यिनै ३ नेताबिच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । त्यसो त, नेपाली कम्युनिस्ट पार्टीले पनि युवालाई अघि सारेको छ । हरिजंग तामाङ नेकपाका उम्मेदवार छन् । उनी पनि नेतृत्व युवा पुस्तामा आउनुपर्ने बताउँछन् ।
लमजुङमा पहिलेभन्दा फरक परिस्थिति छ । विगतका निर्वाचनमा दलहरूबिच हुने गठबन्धन अहिले छैन । १२ वर्षपछि सबै दल एक्लाएक्लै चुनावी मैदानमा छन् । गठबन्धनको ओत नभएपछि कसको प्रभाव कति छ भन्ने असली परीक्षा यसपटक हुँदैछ ।
परम्परागत रूपमा लमजुङमा कांग्रेस र एमालेकै प्रभाव बढी छ । जेनजी आन्दोलनपछि बढेको लहरले पुराना गढहरू भत्किने अवस्था छ । यद्यपि, त्यहाँका मतदाता पुरानै दलहरूबिच प्रतिस्पर्धा हुने बताउँछन् ।
लमजुङमा पृथ्वीसुब्बा आफ्नै विरासत जोगाउन सङ्घर्षरत छन् भने कांग्रेसका गमप्रसाद उनको जितको निरन्तरतालाई रोकेर संसदमा इन्ट्री गर्ने दाउमा छन् । रास्वपाका धर्म केसीचाहिँ पुराना दलको गढलाई भत्काउन प्रयासरत छन् ।
- विगतका चुनावको परिणाम कस्तो ?
लमजुङमा २०४८ सालदेखि २०५६ सम्म नेपाली कांग्रेसले एकछत्र चुनाव जितेको थियो । २०४८ मा संयुक्त जनमोर्चालाई हराएर क्षेत्र नम्बर १ मा कांग्रेसका रामचन्द्र अधिकारी निर्वाचित भए । उनले १६ हजार ६७८ मत ल्याए भने संयुक्त जनमोर्चाका देव गुरुङले १० हजार ७८९ मतमात्रै पाए ।
क्षेत्र नम्बर २ मा कांग्रेसकै रामबहादुर गुरुङले १० हजार ७८९ मत ल्याएर चुनाव जिते । एमालेका पृथ्वीसुब्बा गुरुङले १२ हजार ८६१ मत पाए ।
२०५१ मा पनि रामचन्द्र र रामबहादुरकै जोडी विजयी भए । क्षेत्र नम्बर १ मा रामचन्द्रले १३ हजार २२३ मत ल्याएर जित्दा एमालेका केशवलाल श्रेष्ठले ९ हजार ७२९ मत मात्रै पाए । क्षेत्र नम्बर २ मा रामबहादुर गुरुङले १५ हजार ९२० मत ल्याएर चुनाव जित्दा पृथ्वीसुब्बा १४ हजार ३४२ मतसहित दोस्रो भए ।
२०५६ को आम निर्वाचनमा रामबहादुर गुरुङ क्षेत्र नम्बर १ मा गएर चुनाव लडे । उनले १६ हजार ६०५ मत सहित जित निकाल्दा एमालेका मायानाथ अधिकारी १४ हजार ३५२ मत ल्याएर दोस्रो भए । क्षेत्र नम्बर २ मा कांग्रेसका हरिभक्त अधिकारी विजयी भए । उनले १९ हजार २६ मत पाउँदा एमालेका पृथ्वीसुब्बा १८ हजार ६९९ मतमा सीमित भए ।
२०६४ मा क्षेत्र नम्बर १ मा माओवादीका बुद्धिराम गुरुङ विजयी हुँदा कांग्रेसका तुलसी नारायण श्रेष्ठ पराजित भए । बुद्धिरामले २१ हजार ४४ मत ल्याए भने तुलसीले १० हजार ५३२ मत पाए । क्षेत्र नम्बर २ बाट पृथ्वीसुब्बाले पहिलो जित निकाले । उनले १९ हजार ५८३ मत ल्याउँदा कांग्रेसका दिलबहादुर घर्ती पराजित भए ।
२०७० मा क्षेत्र नम्बर १ बाट एमालेका जमिन्द्रमान घले विजयी भए । जमिन्द्रले ११ हजार ३०९ मत पाउँदा कांग्रेसका डा. टकराज गुरुङले १० हजार ४११ मत पाए । ६ वर्षमै माओवादी २१ हजारबाट ६ हजार मतमा खुम्चियो । क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका चन्द्रबहादुर कुवँर विजयी भए । उनले १४ हजार ७६५ मत ल्याउँदा दोस्रो स्थानमा रहेका पृथ्वीसुब्बाले १४ हजार ९३ मत पाए । माओवादीका पारसमणी पौडेलले ५ हजार २९५ मत पाए ।
त्यसपछि एउटै निर्वाचन बनेको लमजुङबाट २०७४ मा वाम गठबन्धन गरेर माओवादीका देव गुरुङ विजयी भए । उनले ३९ हजार ४६८ मत पाउँदा कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७ मत पाए । २०७९ मा कांग्रेससँग गठबन्धन गरेका उनै देव गुरुङ एमालेका पृथ्वीसुब्बासँग हारे । पृथ्वीसुब्बाले ३४ हजार ९८५ मत पाउँदा देवले ३१ हजार ७९१ मत पाए ।
आगामी निर्वाचनका लागि लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता छन् । महिला ६९ हजार ५२४ जना र पुरुष ६७ हजार ६ सय जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
अघिल्लो प्रतिनिधि सभा निर्वाचनभन्दा अहिले ३ हजार ४ सय जना मतदाता थपिएका हुन् । गत निर्वाचनमा लमजुङमा १ लाख ३३ हजार ७१७ जना मतदाता थिए ।