काठमाडौँमा चोरीको मोटरसाइकल र स्कुटरसहित दुई युवक पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ प्रहरीले चोरीको स्कुटर र मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतका प्रहरी टोलीले सोमबार अलग–अलग स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले सोमबार बिहान ३ बजेतिर चेकजाँचका क्रममा चोरीको भेस्पा स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१३ स्थित संयुक्त बसपार्कमा बागमती प्रदेश ०२–०२३ प ५८८० नम्बरको स्कुटरसहित बाजुराको गौमुल गाउँपालिका–१ घर भई हाल नयाँ बसपार्क बस्ने २० वर्षीय हेमराज बोहरा पक्राउ परेका हुन् ।

त्यस्तै, सोमबार राति नै मित्रनगर क्षेत्रबाट चोरीको मोटरसाइकलसहित अर्का एक युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ मित्रनगर सडक किनारामा पार्किङ गरिराखेको बा ९४ प २३२९ नम्बरको मोटरसाइकल हराएको उजुरी परेको थियो । सोही आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले खोजतलास गर्दा जाजरकोटको शिवालय गाउँपालिका–६ घर भई मित्रनगर बस्ने २० वर्षीय सुरेन्द्र खत्रीलाई पक्राउ गरेको हो ।

खत्रीले आफू बस्ने होटलको पार्किङमा चोरीको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले सोही स्थानबाट एउटै नम्बर प्लेट हालेको अर्को मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल कुमार बुढाथोकीले जानकारी दिए ।