आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार एक सूचना जारी गरी निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको उल्लङ्घन भएको गुनासो प्राप्त भएकाले सम्बद्ध सबैलाई सचेत गराइएको जनाउँदै आगामी फागुन ४ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न आग्रह गरेको छ ।

सूचनामा जुलुस वा आमसभामा सहभागी हुने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित कपडा, टोपी, टिसर्ट, ज्याकेट, ब्याच, मास्क, लकेट, झोला वा स्टिकर प्रयोग गर्न नपाइने, सार्वजनिकस्थल, निजी घरजग्गा, सडकको भित्ता, पोल वा सार्वजनिक भवनमा दलको झण्डा र चुनाव चिह्न टाँस्न वा राख्न निषेध गरिएको जनाइएको छ ।

सूचनाअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर आयोगले तोकेको मापदण्डअनुसार सीमित सङ्ख्यामा सवारीसाधन चलाउन पाइने र विदेशी नम्बर प्लेटका सवारी प्रयोग गर्न पाइने छैन । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ आकर्षित भएमा उम्मेदवारी रद्द हुनेसम्मको सजायको व्यवस्था रहेकाले आचारसंहिता उल्लङ्घन नगर्न र कतै उल्लङ्घन भएको देखिएमा अनुगमन अधिकृतलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।