महावीर पुन कुर्सीको लोभले होइन, कानुन बनाउन चुनाव लड्दैछन् : प्रकाश सपुत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

महावीर पुन कुर्सीको लोभले होइन, कानुन बनाउन चुनाव लड्दैछन् : प्रकाश सपुतचर्चित गायक प्रकाश सपुतले पूर्वमन्त्री महावीर पुन कुर्सीको मोहले नभई देशका लागि आवश्यक कानुन बनाउन चुनावमा होमिएको दाबी गरेका छन् । पुनलाई चुनाव जितको शुभकामना दिन म्याग्दीको बेनी पुगेका सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले पदबाट राजीनाम दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । सपुतले सुरुमा महावीर पुन जस्तो सादगी मान्छे पनि मन्त्री भएपछि कुर्सीको रस पस्यो भनेर धेरैले खिसिट्युरी गरेको देख्दा आफूलाई पनि चित्त दुखेको बताए ।

तर, प्रधानमन्त्री सुशीला कार्कीको भनाइ सुनेपछि आफ्नो भ्रम हटेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर हिँडेको र देशका लागि राम्रा केही कानुन बनाउन खोज्दा तत्कालीन समयमा सहयोग गर्न नसकिएको प्रसंग कोट्याएको सपुतले लेखेका छन् ।

कुनै पनि क्षेत्रमा काम गर्न नीति आवश्यक पर्ने र त्यो काम प्रतिनिधि सभाबाट मात्र सम्भव हुने ठानेर नै पुन चुनावी मैदानमा आएको सपुतको बुझाइ छ । उनले पुनको ‘मन लाग्छ भने दिनुस्, नत्र जसलाई मन लाग्छ त्यसलाई दिनुस्’ भन्ने स्पष्ट र निडर स्वभाव आफूलाई मन परेको बताए ।

म्याग्दीका जनताले आफ्नो विवेक प्रयोग गर्ने भन्दै सपुतले पुनले अरुको कुरा भन्दा पनि आफ्नो मनको आवाज सुनेर उम्मेदवारी दिएकोमा खुसी व्यक्त गरेका छन् ।