जोशीले दौरा सुरुवालमा पूरा गरे अन्टार्टिकाको म्याराथन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली मूलका अमेरिकी धावक बाल जोशीले अन्टार्टिकामा आयोजित म्याराथन पूरा गरेका छन्।

जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिबार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन दौरा सुरुवालमा दगुरेर पूरा गरेका हुन्। अन्टार्टिकामा दौरा सुरुवाल लगाएर म्याराथन दौडनिे उनी पहिलो व्यक्ति हुन्।

अन्टार्टिकाको कठ्यांग्रिदो माइनस २० डिग्री तापक्रममा शनबिार बिहान जोशीले ४२ किमी लामो म्याराथन पूरा गरे। नेपाली पोशाकमा अन्टार्टिकाको हिउँमा कुदेका जोशीले अन्त्यमा अमेरिकी र नेपाली झण्डा फहराएका थिए।

अन्टार्टिकाको समय अनुसार बिहान ३ बजे म्याराथन शुरु भएको थियो। सात उद्देश्यसहित सात महादेशमा सात दिन लगातार सञ्चालन हुने भएकोले यो म्याराथनलाई ‘७७७ म्याराथन’ पनि भनिन्छ।

म्याराथनको पहिलो श्रृंखलामा जोशी सहित ३२ देशका ५६ धावक सहभागी छन्। अन्टार्टिकाको म्याराथन पूरा गरेर अफ्रिकाको केप टाउन पुगेका जोशी १ फेब्रुअरीमा त्यहाँ सञ्चालन हुने म्याराथनमा दौडिनेछन्। अन्टार्टिकाबाट शुरु भएको म्याराथन सातौँ दिन अमेरिकाको मायामीमा समापन हुने छ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन्। टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर हुन्।