संयुक्त अरब इमिरेट्स (यूएई)को ५४औँ राष्ट्रिय दिवस (ईद अल–इत्तिहाद)को अवसरमा त्यहाँका विभिन्न जेलमा रहेका २६७ जना नेपाली कैदीबन्दीले क्षमादान पाएका छन्।
उनीहरुले त्यहाँको कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्कन पाउनेछन्। नेपाल सरकारले युएई सरकारद्वारा उदारतापूर्वक प्रदान गरिएको क्षमादानका लागि कृतज्ञता ज्ञापन गरेको छ।
‘क्षमादान पाएका नेपालीहरु त्यहाँको कानूनी प्रक्रियाहरु पूरा गरेपछि नेपाल आउनुहुन्छ। नेपाल सरकारले यस क्षमादानलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मित्रता, सद्भावना तथा सौहार्दताको प्रतिफलका रूपमा लिएको छ,’ परराष्ट्र मन्त्रालयका प्रबक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने।
मित्रवत् तथा मानवीय सद्भावको रुपमा नेपाल सरकारले युएई सरकारको यो निर्णयलाई उच्च मूल्यांकन गरेको पनि परराष्ट्र प्रबक्ता क्षेत्रीले बताए। परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक गरेको अनुरोधको प्रत्युत्तरस्वरूप युएई सरकारले यो निर्णय गरेको क्षेत्रीले बताए।
‘क्षमादान प्राप्त नेपाली नागरिकहरू, यदि उनीहरूविरुद्ध अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा, संयुक्त अरब इमिरेट्सका प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्,’ परराष्ट्र मन्त्रालयले भनेको छ।
युएईमा करिब सात लाख नेपालीहरु कार्यरत छन्