अब वीरेन्द्र सभागृहमा बस्नेछ कोशी प्रदेशसभा, महानगरलाई मासिक ८ लाख भाडा तिर्नुपर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अब वीरेन्द्र सभागृहमा बस्नेछ कोशी प्रदेशसभा, महानगरलाई मासिक ८ लाख भाडा तिर्नुपर्नेकोशी प्रदेशसभा सञ्चालनका लागि विराटनगर महानगरपालिका र प्रदेशसभा सचिवालयबिच आइतबार औपचारिक सम्झौता भएको छ। महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहलाई प्रदेशसभाको बैठकस्थलका रूपमा प्रयोग गर्ने गरी दुई पक्षबिच करार सम्झौता भएको हो।

विराटनगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरे। सम्झौता अनुसार माघ १८ गतेदेखि आगामी २०८३ साउन १७ गतेसम्म ६ महिनाका लागि सभागृह प्रयोग गरिनेछ। यसबापत प्रदेशसभा सचिवालयले महानगरलाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनुपर्नेछ भने प्रचलित कानुन अनुसार लाग्ने अन्य कर समेत सचिवालयले नै व्यहोर्ने उल्लेख छ।

गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएर पूर्ण रूपमा ध्वस्त भएपछि बैठक सञ्चालनमा समस्या हुँदै आएको थियो। यसअघि मोरङको कटहरीस्थित तरकारी बजारको भवनमा बैठक बस्ने तयारी गरिए पनि पूर्वाधार अभावका कारण सम्भव हुन सकेको थिएन।