आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पर्सा ठोरीका ४१ वर्षीय वविलाल लामालाई काठमाडौँको महाराजगन्जबाट नियन्त्रणमा लिएको हो।
लामाले कम्बोडियामा राम्रो कमाइ हुने प्रलोभनमा पारी पीडितबाट ४ लाख ३५ हजार रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। रकम लिएर लामो समयसम्म झुक्यानमा राखेको र विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। काठमाडौँ महानगरपालिका–९ मा बस्दै आएका लामालाई माघ १६ गते काठमाडौँ–३ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
पक्राउ परेका लामालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।