सन् २०२६ को पहिलो महिना नेपालको पर्यटन क्षेत्रका लागि सुखद देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो।
यो वृद्धि कोभिड–१९ महामारीपूर्वको सन् २०१९ को तुलनामा समेत १४ प्रतिशतले धेरै रहेको बोर्डले जनाएको छ। पर्यटक आगमनको तथ्याङ्क हेर्दा छिमेकी मुलुक भारत शीर्ष स्थानमा कायम छ। कुल आगमनको २८.८ प्रतिशत अर्थात् २६ हजार ६२४ भारतीय पर्यटकले यो महिना नेपाल भ्रमण गरेका छन्।
भारतपछि चीनबाट ९ हजार १०१, अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक नेपाल आएका छन्। क्षेत्रगत आधारमा दक्षिण एसियाली (सार्क) मुलुकको हिस्सा ३९.३ प्रतिशत छ भने अन्य एसियाली देशबाट २६.१ प्रतिशत पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो तथ्याङ्कले अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको विश्वास बलियो हुँदै गएको सङ्केत गरेको बताएका छन्। गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्कमा भएको विस्तार र साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको बढ्दो आकर्षणले आगमन वृद्धिमा टेवा पुगेको उनको भनाइ छ।