भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ ।
आइतबार मन्त्रालयमा भएको छलफलपछि गृहले महानगरको २७ नम्बर वडा कार्यालयलाई सो भवन प्रयोग गर्न सहमति प्रदान गरेको हो ।
साइबर ब्यूरोको भवन ४ आना २ पैसा १ दाम क्षेत्रफलमा फैलिएको छ । साइबर ब्यूरोको कार्यालय सामाखुसीमा सर्दैछ ।
त्यसको सट्टा महानगरपालिकाले रामशाहपथ स्थित ट्राफिक कार्यालयको पछाडि रहेको आफ्नो ७ रोपनी, २ पैसा ३ दाम क्षेत्रफलको जग्गा सरकारको नाममा दर्ता गर्न सहमति दिएको छ ।
सो जग्गामा उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने तयारी छ । रामशाहपथको जग्गा महानगरले ट्राफिक प्रहरीलाई दिने र भोटाहिटीको प्रहरीको भवन महानगरले प्रयोग गर्ने सहमति भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
उनले भने, ‘आपसमा सहमति भएको छ, एकअर्का निकायमा लैजाने प्रक्रिया पुरा गर्न केही समय लाग्छ ।’
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल, आईजीपी दान बहादुर कार्की र गृहका अन्य अधिकृतहरू सहभागी थिए ।