उदयपुर सिमेन्टमा ‘क्लिङ्कर घोटाला’ प्रकरण : पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको करिब साढे ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई महाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेलाई १२ कराेड ४७ लाख २२ हजार २ सय ४२ विगाे माग दाबी गर्दै आइतबार भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।

यस्तै तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह,उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी, बिक्री विभाग प्रमुख  राम बहादुर जी.सी.सहितलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उद्योगमा क्लिङ्करको खपत बढी देखिने तर उत्पादन कम भएको, र भौतिक परीक्षणका क्रममा मौज्दातमा ठूलो अन्तर देखिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानबाट आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्ममा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियारको अभियोगपत्र अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति मास्ने बदनियत राखेर कागजी रेकर्डमा क्लिङ्करको मौज्दात बढी देखाउने तर वास्तविक भण्डारणमा कम राख्ने गरेका थिए । मन्त्रालयको छानबिन प्रतिवेदन अनुसार क्लिङ्कर र चुनढुङ्गाको उत्पादन अनुपात सामान्यतया ०.७२५ हुनुपर्नेमा उदयपुर सिमेन्टमा उक्त अनुपात घटेर ०.६४९ सम्म पुगेको पाइएको छ ।
वर्षगत हिनामिनाको विवरण:
आ.व. २०७४/०७५: १,१२९ मेट्रिक टन (बिगो रु. १ करोड १४ लाख)
आ.व. २०७५/०७६: १०,२९० मेट्रिक टन (बिगो रु. ११ करोड ३३ लाख)
आ.व. २०७६/०७७: १,३२५ मेट्रिक टन (बिगो रु. १ करोड ६२ लाख)
आ.व. २०७७ साउन–पुस: २६,११५ मेट्रिक टन (बिगो रु. ३२ करोड ४३ लाख)