जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आजदेखि तालिम सञ्चालन गरेकाे छ । निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गरिएकाे हो ।
निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै तालिम सञ्चालन गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँको व्यास नगरपालिका–५ पाटन खेलमैदानमा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आँबुखैरेनी क्याम्पसमा, इलाका प्रहरी कार्यालय बेलचौताराको बेलचौतारा खेलमैदानमा, इलाका प्रहरी कार्यालय भानुको गोठेटार खेलमैदानमा र इलाका प्रहरी कार्यालय बन्दीपुरको बन्दीपुरमा तालिम सञ्चालन गरिनेछ ।
कार्यालयले एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ । आवेदन कम भएपछि कार्यालयले दुई पटक आवेदन दिने समय थप गरेको थियो । प्रनाउ विकले भने, “आफूलाई पायकपर्ने स्थानमध्ये जहाँ सम्पर्क गर्दा पनि हुन्छ, पाँच ठाउँमा तालिम सञ्चालन हुन्छ ।”
कार्यालयले १९६ जनालाई वैकल्पिक सूचीमा राखेको छ । वैकल्पिक सूचीमा रहेकालाई स्याङ्जा पठाउने तयारी गरिएको छ । स्याङ्जामा निर्वाचन प्रहरीका लागि कम आवेदन परेपछि इच्छुक हुनेलाई स्याङ्जा पठाइने प्रनाउ विकले बताए ।
निर्वाचनमा निर्वाचन प्रहरीसँगै करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । निर्वाचनमा परिचालन गरिने कर्मचारी, प्रहरीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।