घमन्ड नगरी भन्ने हो भने हामी बहुमतका साथ विजयी हुन्छौँ : रास्वपा उम्मेदवार सापकोटा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेत क्षेत्र नम्बर २ मा आफूहरू विजयी हुने दाबी गरेको छ। एमाले, कांग्रेस र माओवादी जस्ता पुराना दलहरूको बलियो पकड मानिने यस क्षेत्रमा रास्वपाका उम्मेदवार रमेश सापकोटाले आफूहरू भारी मतका साथ विजयी हुने ठोकुवा गरेका हुन्।

यातायात व्यवसायी समेत रहेका सापकोटाले आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चुनावी मैदानमा आफ्नो पक्षमा सोचेभन्दा राम्रो लहर देखिएको बताए। उम्मेदवारी दर्तापछि गाउँ अभियानमा निस्किएका सापकोटाले मतदाताहरू पुराना दलहरूसँग निकै रुष्ट रहेको दाबी गरे।

‘मैले भेटेका अधिकांश मतदाताले यस पटक घण्टीमै भोट हाल्ने प्रतिबद्धता जनाएका छन्, कतिपयले त तपाईँ नआए पनि हामी घण्टीमै भोट हाल्थ्यौँ समेत भनेका छन्,’ उनले भने। जनतामा पुराना शक्तिप्रतिको वितृष्णा नै आफ्नो जितको मुख्य आधार भएको उनको तर्क छ।

सापकोटाले आफ्नो चुनावी विश्लेषण सुनाउँदै भने, ‘जनताको बुझाइ रास्वपाप्रति सोचेभन्दा तेब्बर राम्रो छ। भोलि नै चुनाव हुने हो भने पनि मानिसहरू हामीलाई भोट हाल्न आतुर छन्। धेरै घमन्ड नगरी भन्ने हो भने हामी बहुमतका साथ विजयी हुन्छौँ।’ विगतमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सापकोटा यस पटक रास्वपाबाट चुनावी मैदानमा उत्रिएका हुन्।

सुर्खेत–२ मा यसअघि कांग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने गरेको थियो। यस पटक कांग्रेसबाट नारायण प्रसाद कोइराला, एमालेबाट कुलमणि देवकोटा र नेकपाबाट झकबहादुर मल्ल उम्मेदवार छन्।