नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर ल्याउने बताए ।
उनले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेन्डा बनाउने बताए । ‘नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छौँ । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ,’उनले बताए ।
गुरुङ रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी घोषण पत्रमा आउने बताए । ठूला उद्योगहरूलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिनेका उनको दाबी छ । ‘सामाजिक सेवालाई गुणस्तरीय र राज्यलाई सेवामुखी बनाउन जोड दिएका छौँ भने समावेशी अर्थतन्त्र, वातावरण मैत्री अर्थतन्त्र समेत घोषणा पत्रमा आउँछ,’उनले सुनाए ।
डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने भन्दै उनले । विगतमा धेरै प्रचारमुखी भएको भन्दै यो पटक कार्यान्वयन हुने खालको घोषण पत्रमा ल्याउने दाबी गरेका हुन् ।
घोषणा पत्रमा कार्यान्वयन हुन नसक्नुको कारण राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिती भएको उनले बताए । उनले विश्व बजार युद्ध अर्थतन्त्रमा गइरहेको भन्दै विश्व आतंकित दिशामा भइरहेको भन्दै अर्थतन्त्र पश्चिम केन्द्रित भइरहेका बताए । ‘युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुनेगरी घोषण पत्र ल्याउँछौ । ’
नेता गुरुङले अहिले देशमा संविधान क्रियाशिल नभएको भन्दै जेनजीको नाममा निर्दलिय सरकार रहेको बताए । निर्वाचनको निष्पक्षतामा शङ्का गर्दै उनले भने ‘ दलहरु पर्यवेक्षकको रुपमा मात्रै छन् । दलीय प्रणाली पूर्ण क्रियाशिल छ की छैन यो बहसमै छ । निष्पक्ष स्वतन्त्र ढंगले निर्वाचन भए दलहरु पुनःस्थापित भए मान्न सकिन्छ । तर निर्वाचनबाट प्रोक्सी दलहरु आउने त होइन भन्ने शङ्का छ ।’