ललितपुर क्षेत्र नम्बर ३ बाट रास्वपाकी उम्मेदवार तोसिमा कार्कीसँग गरिएको कुराकानी :
- हाल चुनावको तयारी कस्तो भइरहेको छ ? मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
तयारी निकै उत्साहजनक छ । म अहिले मेरो निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगिरहेकी छु । मतदाताहरूमा एउटा छुट्टै किसिमको उत्साह देखेकी छु । विशेषगरी युवा पुस्तामा निकै चासो छ । उहाँहरूले सोध्नुहुन्छ– ‘हिजो के गर्नुभयो र अब के गर्नुहुन्छ ?’ यो जिज्ञासा हुनु राम्रो कुरा हो । मलाई एकदमै सकारात्मक भाइब्स आइरहेको छ । अघिल्लो पटकको भन्दा अझ बढी साथ र समर्थन यसपटक पाउनेमा म विश्वस्त छु ।
- कतिपय मतदाताले ‘सांसद जितेर गएपछि फर्किएर आउनुभएन’ भन्ने गुनासो पनि गरेको सुनियो नि, यसलाई कसरी लिनुहुन्छ ?
मैले मेरो सबै क्षेत्रमा समय मिलाएर पुग्ने प्रयास गरेकी छु, तर एउटा कुरा के बुझ्न जरुरी छ भने, संघीय सांसदको मुख्य भूमिका संसदमा नीति, नियम र कानुन निर्माण गर्ने हो । मैले संसदमा उपस्थिति, क्षेत्रीय मुद्दा र राष्ट्रिय मुद्दाहरूमा आफ्नो समय खर्चिएकी छु । सांसद भनेको ठेकदारजस्तो बजेट हालेर काम गर्नेमात्र होइन, तर आफ्नो क्षेत्रका मुख्य मुद्दाहरूमा सरकारलाई घच्घच्याउने, अनुगमन गर्ने र जबाफदेही बनाउने काममा मैले कुनै कसर बाँकी राखेकी छैन ।
हाम्रो समाजमा जनप्रतिनिधि सधैँ विवाह, भोज वा साना कार्यक्रममा उपस्थित भइदियोस् भन्ने अपेक्षा हुन्छ, जुन स्वाभाविक पनि हो, तर मेरो प्राथमिकता संसदमा नीति निर्माण र स्वास्थ्य–शिक्षा जस्ता समितिहरूमा जनताका पक्षमा वकालत गर्नु थियो । म स्वास्थ्य तथा शिक्षा समितिको सदस्य र स्वास्थ्य उपसमितिको संयोजकसमेत भएर काम गरेँ । त्यसैले म काममै व्यस्त थिएँ, हराएको होइन ।
- तपाईंका विपक्षीहरूले खास हामीचाहिँ नयाँ हौँ, उहाँ पुरानो भइसक्नुभयो भन्दै प्रचार गरिरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ ?
म त खुला बहसमा विश्वास गर्छु । आम नागरिकले हामी सबैलाई जाँच्न सक्नुहुन्छ । जहाँसम्म पुरानो र नयाँको कुरा छ, मेरो तीन वर्षको कार्यकाल जुन वास्तवमा अधुरो रह्यो । त्यहाँ मैले के–के गरेँ भन्ने कुरा स्पष्ट छ । स्थानीय सरकारले गर्नुपर्ने सडक, बत्ती, ढल र खानेपानीका समस्याहरू लिएर पनि जनता मकहाँ आउनुहुन्छ । यो किन भयो भने स्थानीय र प्रदेश सरकारले आफ्नो सिस्टममा काम नगर्दाको परिणाम हो । मलाई विश्वास छ, जनताले मेरो इमानदारिता र काम गर्ने शैलीलाई मूल्याङ्कन गर्नुहुनेछ ।
- ललितपुर क्षेत्र नम्बर ३ का मुख्य समस्याहरू के हुन्, जसलाई तपाईंले राष्ट्रिय रूपमा कसरी उठाउनुहुन्छ ?
यहाँ धेरै मुद्दा छन् । पहिलो, काठमाडौँ–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को प्रस्थान बिन्दुको विवाद अझै समाधान हुन सकेको छैन । यसलाई मैले निरन्तर फलोअप गरिरहेकी छु । दोस्रो, कान्ति लोकपथ र यहाँका मुआब्जाका विषयहरू छन् । मेलम्चीको खानेपानी आयोजनामा भएको ढिलाइले ललितपुरवासी अझै काकाकुल हुनुपर्ने अवस्था छ, यसलाई पनि मैले प्राथमिकतामा राखेकी छु ।
त्यस्तै, नख्खु–भैँसेपाटी सडक, सातदोबाटो–धापाखेल सडक र खोयबहा–सानागाउँ सडकहरू १० औँ वर्षदेखि अलपत्र थिए । बजेट फ्रिज हुने, ठेकदारले काम नगर्नेजस्ता समस्या थिए । मेरो कार्यकालमा यी सडक र रातो मच्छिन्द्रनाथ तथा रुद्रायणी मन्दिरको पुनर्निर्माणका कामहरूमा उल्लेख्य प्रगति भएको छ । अर्को महत्त्वपूर्ण उपलब्धि भनेको ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनु हो । ७७ जिल्लामध्ये ललितपुरमा यो कार्यक्रम थिएन, मेरो निरन्तरको प्रयासपछि अहिले यहाँ स्वास्थ्य बीमा लागु भएको छ ।
- यसपटक तपाईंको प्रतिस्पर्धामा कांग्रेस, एमाले जस्ता ठुला दलका अनुभवी उम्मेदवारहरू छन्, उहाँहरूलाई कसरी हेर्नुहुन्छ ?
म सबै उम्मेदवारहरूलाई सम्मान गर्छु र स्वस्थ प्रतिस्पर्धा होस् भन्ने चाहन्छु । कसले के काम गर्यो, कसको भिजन के छ भन्ने कुरा जनताले हेर्ने हो । पुराना पार्टीका साथीहरूले ३०औँ वर्ष यो देश चलाउनुभयो, उहाँहरूसँग पर्याप्त समय थियो, तर हामीले त केवल केही समयमात्र पायौँ । मेरो अधुरो कार्यकालमा मैले देखाएको सक्रियता नै मेरो आधार हो ।
- अन्त्यमा, मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
म आम मतदातालाई के भन्छु भने ललितपुर–३ मामात्र जितेर पुग्दैन, देशभरबाट हामीले धेरै सांसद पठाउन सक्यौँ भनेमात्र स्थिर सरकार बन्छ र हामीले सोचेका काम गर्न सक्छौँ । ३० वर्ष पुराना दलहरूलाई हेरिसक्नुभयो, अब ५ वर्ष रास्वपालाई हेर्नुहोस् । हामीले राखेका संशोधन प्रस्तावहरू र हाम्रा नीतिहरूले देशलाई कता लैजान्छ भन्ने कुरा जनताले बुझिसक्नुभएको छ ।