
– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकपका लागि टिमको तयारी सन्तोषजनक रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको भिडियो संवादमा उनले अभ्यास, टिम संयोजन र खेलाडीहरूको मनोबल सबै सकारात्मक रहेको उल्लेख गरे।
कप्तान पौडेलका अनुसार टिमले आगामी दिनहरूमा थप अभ्यास खेल खेल्दै तयारीलाई अझ धारिलो बनाउनेछ। “तयारी राम्रो भइरहेको छ। अभ्यास खेल बाँकी छन् र विश्वकपलाई लिएर हामी सबै उत्साहित छौँ,” उनले भने।
नयाँ र अनुभवी खेलाडीको सन्तुलित संयोजनले टिम बलियो बनेको उनको भनाइ छ। तीन जना खेलाडी पहिलो पटक विश्वकप खेल्न लाग्दा सोमपाल कामी भने तेस्रो पटक विश्वकप मैदान उत्रिन लागेका छन्, जसले टिममा थप आत्मविश्वास थपेको पौडेलले बताए।
२०२६ को विश्वकपसम्म पुग्ने यात्रामा अपेक्षा र दबाब दुवै रहेको स्वीकार्दै उनले त्यसलाई सकारात्मक रूपमा लिएको बताए। “अपेक्षा धेरै थिए, दबाब पनि महसुस भयो, तर हामी त्यसलाई अवसरका रूपमा लिइरहेका छौँ,” उनले भने।
कप्तान पौडेलले नेपाली समर्थकलाई गर्व महसुस हुने खेल प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्। “हामी मैदानमा शतप्रतिशत दिन्छौँ। हाम्रो प्रदर्शनले नेपाल र नेपालीलाई गर्व गराउनेछ,” उनको भनाइ छ।
राष्ट्रिय जर्सीले आफूलाई भावुक बनाउने उल्लेख गर्दै उनले सन् २०१४ को विश्वकप घरमै बसेर हेरेको स्मृति पनि सम्झिए।
हाल विश्वकप तयारीमा रहेको नेपाली टिम भारतको मुम्बइमा अभ्यासमा व्यस्त छ। भारतमा नेपाली टिमले स्थानीय प्रदेश स्तरका टिमसँगै यूएई र क्यानडासँग अभ्यास खेल खेल्दै विश्वकपको अन्तिम तयारी गरिरहेको छ।