-1708857142.jpg)
-फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको छ। सोमबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेसँगै सरकारले निर्वाचनका लागि केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको हो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय कमान्ड पोस्टमा चार वटै सुरक्षा निकायका अधिकारीहरू सम्मिलित छन्। यो कमान्ड पोस्ट केन्द्रीय सुरक्षा समितिको निर्देशनमा सञ्चालन हुनेछ। कमान्ड पोस्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू छन्। यसका अतिरिक्त गृह मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिहरू सम्मिलित केन्द्रीय संयुक्त निर्वाचन सेल पनि बनेको छ।
निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ तयार गरेपछि केन्द्रीय कमान्ड पोस्ट र निर्वाचन सेल बनेका हुन्। हाल चारै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले यिनलाई कार्यान्वयनको तहमा लानेछन्। प्रदेश स्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुख तथा आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य रहने गरी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेल गठन भइसकेका छन्। यसैअनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई आमन्त्रित सदस्य राखिएको छ।