
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताउनुभएको छ ।
पार्टी कार्यलय सानेपामा संचारकर्मीसँग कुरा गर्दै उहाँले शुक्रबार बस्न लागेको बैठकले गर्ने निर्णयले देशैभरी नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दावी गर्नुभएकाे हाे । उहाँले बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिनुभयो । कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । सोही प्रश्ताव पार्टीको केन्द्रीय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिनुभयो ।
महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताउनुभएकाे छ। कांग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री काे बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उहाँको दावी छ । संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न कांग्रेसले यो अभ्यास शुरु गर्न लागेको उहाँको भनाइ छ । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पहिले नै थाहा पाउने उहाँले बताउनुभयो । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य कांग्रेसले लिएको उहाँले बताउनुभएकाे छ ।
महामन्त्री पौडेलले बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण निर्णयहरु गर्ने पनि जानकारी दिनुभयो । कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गरेकोले अब देशको नेतृत्व पनि परिवर्तन गर्ने दावी गर्नुभयो । अब कांग्रेसले देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्ताव ल्याउन लागेको समेत उहाँले बताउनुभएकाे छ।
महामन्त्री पौडेलले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागि कांग्रेसले सभापति गगन थापालाई मधेशबाट उम्मेदवार बनाएको पनि बताउनुभयो ।