काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन् ।
रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो सवारी भेट्टाइदिएकोमा सवारी धनीले अनुसन्धानमा संलग्न प्रहरीलाई मिठाइ खुवाए । पछिल्लो २५ दिनको अवधिमा ५० वटा दुईपांग्रे सवारी फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका युनिटमा पठाएका छौँ ।’
पुस महिनामा मात्र ट्राफिक प्रहरीले ९२ वटा मोटरसाइकल र स्कुटर फेला पारेको छ । पुसमा महिनामा ३०५ वटा दुइपांग्रे सवारी हराएको निवेदन आएको एसपी सुवेदीले जानकारी दिए ।