काठमाडौं-१ बाट रास्वपाले रञ्जु दर्शनालाई उम्मेदवार बनाउने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ । यसघि उनले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी थिइन् ।

रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् । उनले समानुपातिक उम्मेदवारका लागि रास्वपाले गरेको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । महिला आकांक्षीहरुमा उनलाई सर्वाधिक मत आएको थियो। तर, रास्वपाले बन्दसूची पठाउँदा खस आर्य महिलाको क्लस्टरमा १० औं नम्बरमा राखेपछि उनी असन्तुष्ट बनेकी थिइन् ।

रञ्जुलाई अन्याय गरिएको भन्दै पार्टीभित्र र बाहिर पनि निकै विरोध भयो । पार्टीले बन्दसूचीमा व्यापक संशोधन गर्दा पनि रञ्जुलाई न्याय मिलेन। त्यसपछि उनले बन्दसूचीबाट नाम फिर्ता लिइन् । अन्ततः उनलाई प्रत्यक्षमै उठाउन नेतृत्व तयार भएको छ ।

रञ्जु चाँडै आमा बन्नेसमेत तयारीमा छिन् । शारीरिक अवस्थाका कारणले प्रत्यक्षमा लड्न असहजता हुने भएकाले समानुपातिक उठ्न चाहेको उनले बताएकी थिइन् । तर, समानुपातिकमा निर्वाचित हुने सम्भावना नदेखेपछि उनी प्रत्यक्षमै आउन तयार भइन् । काठमाडौं-१ मा तुलनात्मकरुपमा घरदैलो गर्न सहज रहेकाले यो क्षेत्र रोजेको जनाइएको छ ।

यस क्षेत्रमा रास्वपाबाट पुकार बम पनि दावेदार थिए । अघिल्लोपटक पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर तेस्रो भएका बमले यसपटक भने टिकट नपाउने भएका छन् ।