। नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका दुई चर्चित र प्रभावशाली नेताहरूलाई यसपटक मैदानबाहिर राखेको छ। ताप्लेजुङबाट उपमहासचिव योगेश भट्टराई र काभ्रे–२ बाट पूर्वमन्त्री गोकुल बास्कोटा अन्तिम सूचीमा अटाउन सकेनन्।
पार्टी नेतृत्वले पुराना अनुहारभन्दा स्थानीय आधार बलियो भएका नयाँ उम्मेदवारलाई अघि सार्ने रणनीति लिँदै यी दुई क्षेत्रमा फरक निर्णय गरेको हो। शनिबारको सचिवालय बैठकले उम्मेदवार छनोटको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि आइतबार अन्तिम टुंगो लागेको थियो।
ताप्लेजुङमा एमालेले राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाएको छ। लगातार दुई पटक सांसद निर्वाचित भइसकेका भट्टराईलाई टिकट नदिने निर्णयको पृष्ठभूमिमा जिल्लाभित्र देखिएको तीव्र विवाद मुख्य कारण बनेको छ। पाथीभरा केबलकार परियोजनालाई लिएर चर्किएको असन्तुष्टि र त्यसबाट सिर्जित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेतृत्वले जोखिम नलिने निर्णय गरेको स्रोतको भनाइ छ।
यता काभ्रे–२ मा भने परिस्थिति फरक तर परिणाम उस्तै देखिएको छ। अघिल्ला चुनावमा कठिन परिस्थितिमा पनि जित हात पारेका बास्कोटालाई यसपटक आफ्नै संगठनभित्रको असन्तुष्टिले कमजोर बनायो। यद्यपि जिल्ला र क्षेत्रीय कमिटीबाट उनको नाम एकल सिफारिस भएको थियो, तर पार्टी अध्यक्ष ओलीले धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
एमाले स्रोतका अनुसार, बास्कोटाको कार्यशैलीप्रति विशेषगरी युवा कार्यकर्ताबीच बढ्दै गएको असन्तोषले चुनावी गणनालाई प्रभावित गरेको हो। जित सुनिश्चित गर्न कठिन देखिएपछि पार्टीले दुई कार्यकाल नगर प्रमुख भइसकेका ब्याञ्जुलाई सुरक्षित विकल्पका रूपमा अघि सारेको बताइएको छ।