
काठमाडौं -आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो २ बजेका लागि तय गरिएको बैठक केही बेरअघि सुरु भएको हो।
निर्वाचन आयोगको कार्यतालिका अनुसार यही माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
सोही समयसीमालाई मध्यनजर गर्दै एमालेले उम्मेदवार चयन प्रक्रियालाई अन्तिम रूप दिन आज बैठक डाकेको हो। यसअघि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको सम्पूर्ण अधिकार (अख्तियारी) सचिवालयलाई प्रत्यायोजन गर्ने निर्णय गरेको थियो।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले तल्लो तहबाटै उम्मेदवारहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन्।
प्राप्त सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना शीर्ष नेताहरूको नाम सर्वसम्मत रूपमा सिफारिस भएर आएको छ।
बैठकले तल्लो तहबाट आएका सिफारिसका आधारमा छलफल गरी योग्य उम्मेदवारहरूको सूचीलाई आजै अन्तिम रूप दिने नेताहरूले बताएका छन्।