कोइराला बिरासतबाट उम्किएको कांग्रेसः बाबुहरूले विचार हाँक गरे, छोराहरू लम्पसार परे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– नेपाली कांग्रेसको नेतृत्व कोइराला बिरासतबाट उम्किएको छ। निर्वाचत आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापालगायतलाई शुक्रबार साँझ आधिकारिकता प्रदान गरेपछि कोइराला बिरासतबाट उम्किएको हो।

डा. शेखर कोइराला अन्तिम पटक सभापतिका निम्ति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा पराजित भए पनि बिरासतको लाज राख्न सक्ने पात्र थिए। विशेष महाधिवेशनमा उनले थापा र विश्वप्रकाश शर्माको आग्रह नमानी देउवा समूहमा जोडिँदा बिरासत गुमेको छ।

अझ कांग्रेसका विचारक, महामानव समेत ठानिएका विश्वेश्वरप्रसाद कोइराला (बीपी)का पुत्र समेत रहेका डा. शशांक कोइरालालाई निर्वाचन क्षेत्रका कार्यकर्ताले विशेषको पक्षमा उभिएर नेतृत्व लिन दबाब दिँदा पनि देउवाकै लाइनमा उभिए।

कतै पनि प्रष्ट नखुलेकी गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले भने सभापति थापालाई बधाई दिएकी छन्। तर, उनी केही समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा अब्बलगरी लागेको पाइएको थिएन।

‘कांग्रेसको लामो इतिहासमा वीपीको योगदानको चर्चा हुन्छ। कांग्रेसको नेतृत्व र देशमा उथुलपुथुल ल्याउने काम गिरिजाबाबुले गर्नुभयो’, कोइरालानिकट भन्छन्,‘अब यो बिरासतलाई निरन्तरता दिन नसक्नेगरी केही थान सांसद र देउवाको पछि लाग्दा शेखर कोइरालाप्रतिको आश पनि तुहिएको छ।’

विशेष महाधिवेशनका सभापतिले अपील गरेअनुसार फर्किएर नियमित महाधिवेशनका निम्ति तयार भएको खण्डमा शेखरको सम्भावना रहने पनि बताइन्छ। तर, एकथरी भन्छन्,‘कांग्रेसको इतिहासमा त्यस्तो पुनर्जागरण हुने सम्भावना दुर्लभ छ।’

कांग्रेसमा वीपी र गिरिजाले विचारको हाँक लिएका थिए। वीपीले ००७ सालदेखिको क्रान्ति र गिरिजाले ०६२–०६३को जनआन्दोलनसम्म वैचारिक अनि केन्द्रीय राजनीतिमा प्रभाव छाडेका थिए।

गिरिजापछि हालको संविधान जारी गराउने दायित्व कोइराला बिरासतका आधारमा सुशीलले जिम्मेवारी बहन गरेका थिए। लामो समय गिरिजाको कार्यबाहक रहेका सुशील १२औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

तर, १३औं र १४औं महाधिवेशनमा सभापतिका निम्ति प्रतिस्पर्धा गरेर कोइराला बिरासतको जीवित रहेको सन्देश दिए पनि हालैको विशेष महाधिवेशन हुँदा शेखर र शशांक देउवासित लम्पसार परेको कतिपय कार्यकर्ता बताउँछन्।

कांग्रेसमा रोचक के देखिन्छ भने पारिवारिक बिरासत र नेतृत्वको निरन्तरता हुन्छ। भारतीय कांग्रेस आईमा पनि जवाहरलाल नेहरुदेखि हाल राहुल गान्धीसम्मले बिरासत धानेका छन्।

इन्दीरा, राजीव, सोनियाँ हुँदै भारतीय कांग्रेसमा राहुलसम्म आउँदा भलै विपक्षमा रहनुपरेको होस् तर बिरासतको राजनीतिमा सक्रिय छन्, किनारामा राखिएका छैनन्।