पोखरा । गण्डकी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन कप–२०८२ आज पोखरामा सुरु भएको छ। युनिक ब्याडमिन्टन क्लब, कास्कीको आयोजनामा सुरु भएको प्रतियोगिता बराल समाज घर, पोखरा–८ मा सञ्चालन भइरहेको छ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बराल ले गरेका हुन्। कार्यक्रममा विशेष अतिथि वडा नं. ७ का अध्यक्ष राममोहन आचार्य रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता जुक्तमान गुरुङ ले गरेका थिए। कार्यक्रम सञ्चालन फूर्वा क्षिरिडुङ गुरुङ ले गरेका हुन्।
प्रतियोगितामा कास्की जिल्लासहित विभिन्न स्थानबाट ६० वटा टिम को सहभागिता रहेको छ। टिम दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको प्रतियोगितामा विजेतातर्फ प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ, दोस्रोलाई २० हजार रुपैयाँ र तेस्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
आजदेखि सुरु भएको प्रतियोगिता माघ २ र ३ गतेसम्म सञ्चालन हुनेछ। साथै प्रतियोगितासँगै ५० वर्षमाथिका खेलाडीका लागि सिनियर ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ। प्रतियोगिताले स्थानीयस्तरदेखि प्रदेशस्तरसम्म ब्याडमिन्टन खेलको विकास र खेलाडी उत्पादनमा टेवा पुग्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।